निगमको क्याबिन क्रु संघ आन्दोलित, यात्रुलाई सास्ती


टुरिजम पाना काठमाडौं । २९ मंसिर २०७९
bayu sewa nigam
फाइल तस्वीर

नेपाल वायुसेवा निगमले करार नवीकरण नगरेपछि क्याविन क्रु का सदस्य आन्दोलित बनेका छन् ।

निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै बिहीबार क्याबिन क्रुले निगम मुख्यालयमा आन्दोलन गर्दा धकेलाधकेलको समेत अवस्था आएको जानकारी गराएको छ ।

अध्यक्ष प्रदा कार्की र सचिव पदमबहादुर कार्कीद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘व्यवस्थापनको चरम लापरबाहीका कारण तिन महिना पहिला हुनुपर्ने नवीकरण तथा क्याविन क्रु आईडी कार्ड अन्तिम समयसम्म नवीकरण नगराई उडाइएको साथै नेवानी र नागरिक उड्डयन प्राधिकरणको ओएमए ९.८ अनुसार महिनामा १०० घण्टा मात्र उड्न पाउने व्यवस्था उल्लंघन गर्दै सोभन्दा बढी उडाइएकाले सम्पूर्ण क्याविन क्रु थकान भई बिरामी पर्न गएकाले उडान गर्न असमर्थ छौं ।’

यता, आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का उडान दलका सदस्यहरुको आन्दोलनले उडान प्रभावित भएको छ।

बिहीबार वार्ता चलिरहेको समयमा माओवादी निकट युनियनका नेताहरुले क्याबिन क्रु माथी हातपात गरेपछि राजु श्रेष्ठ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

२९ मंसिर २०७९