मान्म-कोटवाडा केबुलकार निर्माण गरिने


टुरिजम पाना संवाददाता काठमाडौं । २४ असार २०८०
cable car panchase
फाइल तस्वीर

निर्माण थालिएको चार दशक पछि निर्माण सम्पन्न भएको कोटवाडा विमानस्थल भएको ठाउँ जानको लागि मान्म—कोटवाडा केबुलकार निर्माण गर्न समन्वय भएको छ।

सोही ठाउँमा केबुलकार निर्माणको लागि सरोकारवालाले बजेट जुटाउने प्रतिबद्धता जनाएका छन्। केबुलकार निर्माणको लागि डीपीआर निर्माण गरेर एक वर्ष देखी तयारी अवस्थामा छ।

चार दशक लगाएर निर्माण सम्पन्न भएको कोटवाडा विमानस्थल भएको ठाउँमा पुग्न केबुलकार सञ्चालन गरिने भएको हो। अहिले सम्म सरकारले लगानी जुटाउन नसक्दा कहिले निर्माण हुने भन्नेमा अन्यौलता छ।

सदरमुकाम मान्मको डाँडाबाट पारिपट्टि पर्ने कोटवाडाको डाँडो जोड्ने केबुलकार निर्माण गर्न सरोकारवालाले पहल थालेका छन्। मान्मबाट कोटवाडा पुग्न पैदल ६ घण्टा र गाडीमा साढे २ घण्टा लाग्ने गर्छ ।

२०४२ सालमा सर्भे भएर निर्माण थालिएको कोटवाडा विमानस्थल हाल कालोपत्रे भए पनि जहाज आएको छैन । विमानस्थल पुग्ने भरपर्दो सडक नहुँदा सरोकारवालाले केबुलकार निर्माणमा जोड दिएको बताएका छन्।

केबुलकार निर्माणका लागि काठमाडौँको रोप–वे एन्ड केबुलकार प्रालिले सर्भे, डिजाइनसहित डीपीआर निर्माण गरेर सरोकारवालासँग अन्तरक्रिया गरिसकेको छ । हाल स्थानीयहरू केबुलकार निर्माण हुने कुराले केही खुसी छन्। भने केहीले फेरी कति दशक लाग्ने हो भन्ने प्रश्न गर्न थालेका छन्।

एउटा विमानस्थल बन्न चार दशक लाग्छ केबुलकारको कुरा स्थानीय मिना बिष्टले प्रश्न गरिन्। मान्मक—कोटवाडा केबुलकार निर्माण भएपछि बहु आयामिक अवसर सिर्जना हुने र आर्थिक समृद्धको बाटोमा जान सक्ने कन्सल्टेन्सीका प्रमुख गुणराज ढकालले बताए । ‘यो कालिकोटका लागि महत्त्वपूर्ण परियोजना बन्न सक्छ।’ उनले भने। २ हजार १ सय ५७ मिटर लम्बाइ रहेको मान्म—कोटवाडा केबुलकार ५ मिनेटमा पुग्न सकिने कन्सल्टेन्सीका इन्जिनियर गणेशराम सिंकेमनले बताए। ‘रक चट्टान निकै कडा छ’ उनले भने, ‘फाउन्डेसनका लागि लोकेसन पनि राम्रो छ ।’ उनका अनुसार लगानी जुट्न सके डेढ वर्षमा केबुलकार निर्माण गर्न सकिन्छ।

 

२४ असार २०८०