नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन ।
भानु नगरपालिका –४ चुँदीरम्घास्थित घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ । भारत, म्यानमारलगायत देशमा भानुभक्तको ठुलो चर्चा हुने गरे पनि नजिकैको तीर्थ हेला भनेझैँ भानुको नामबाट स्थापित भानु नगरपालिकाले भानुसँग सम्बन्धित कुराको संरक्षणका लागि कुनै पहलकदमी गरेको छैन ।
देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक यहाँ आइसकेपछि भानु भग्नावशेष घर देखेर निराश हुनेगरेको स्थानीयको भनाइ छ ।
स्थानीय सरकार निदाएर बसेकाले घर पुनर्निर्माण हुन नसकेको चुँदेवीको गुनासो छ । भानुको घर झारले ढाकेको, घरमा प्रयोग भएका काठका झ्यालढोका डढेलोले खाएको र रामायण भवन अलपत्र परेको देख्दा मन रोएको भानु नगरपालिका –५ सेपाबगैंचा घर भई हाल व्यास नगरपालिका –२ बस्नुहुने भरत पोख्रेलले बताए। उनले भने, “तुरुन्तै बजेट विनियोजन गरेर आगामी भानु जयन्तीसम्म घरको पुनर्निर्माण गरिनुपर्छ, भानुको घर भग्नावशेष हुनु भनेको भानुप्रतिको अपमान हो ।’’
नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान गरे पनि राज्यले उनको सम्मान गर्न नसकेकाले घरको पुनर्निर्माणमा ध्यान नपुगेको स्थानीयको भनाइ छ । भानुभक्तको जन्मघर नजिकै बस्ने ८५ वर्षीय भ्याँगे सुनारले स्थानीय जनप्रतिनिधिले संरक्षणका लागि पहल नगरेकाले अलपत्र परेको बताए।
आदिकवि भानुभक्त चलचित्रमा अभिनय गरेर आफ्नो कलाकारिता अगाडि बढाउनु भएका दिलीप रायमाझीले भानुको जन्मस्थलमा केही अघि त्यहाँ पुग्दा भग्नावशेष परेको घर देख्दा भानुलाई सम्मान हुन नसकेको अनुभूति भएको बताए। भानुभक्तलाई भारतको दार्जिलिङ र सिक्किममा निकै आदर गर्ने भए पनि नेपालमा भानुको सम्मान हुन नसकेको उनको बुझाइ छ ।
२०५२ सालमा सरकारले गठन गरेको भानु जन्मस्थल विकास समितिको नाम परिवर्तन गरेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको रूपमा नयाँ गठन भएको छ । समितिले २०५५ सालमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने क्रममा घरको पुनर्निर्माण गरेको थियो ।
२०५७ मा भानु चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि एक लाखको लागतमा उक्त घर पुनर्निर्माण गर्नुभएको थियो । रामायण भवन तथा भानुको घरलाई संरक्षणमा टेवा दिन नेपाल प्रहरी वा सशस्त्र प्रहरीले चौकी स्थापना गर्न माग राखेको भए पनि सुनुवाइ नभएको भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष तथा साबिक भानु गाविसका अध्यक्ष ऋषिराम पन्तले बताए।
जङ्गलबीचको खरको छानाको उक्त घर २०६० जेठमा आगलागी हुँदा जलेर नष्ट भएको थियो । २०७३ मा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्व मुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गरेका थिए ।
६८ लाख रुपियाँको लागतमा निर्माण हुने भनी शिलान्यास गरिएको भए पनि बजेट विनियोजन नभएकाले पुनर्निर्माणको काम हुन नसकेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्क रानाभाटले जानकारी दिए ।
चुँदीरम्घाको प्राकृतिक सौन्दर्य नासिँदै गएको छ । भानुभक्तको सालिक लेउले ढाकेको छ । आदिकविसँग सम्बन्धित सम्पदा, वस्तु र भानु पुस्तकालयको संरक्षण भएको छैन । नेपाली भाषा दयनीय हुँदै गएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीय बताउँछन् ।
बिर्के टोपी घाँसी अभियानका अभियन्ता भानु नगरपालिका –२ अम्बोटे निवासी यदुनाथ न्यौपानेले करौडौंमा बनेको रामायण भवन धमिराले खाने, भानुको घर पुनर्निर्माण नहुने भानु जयन्तीमा मात्रै भानुटोपी लगाएर अर्थ नहुने बताए। भानुभक्त वि.स. १८७१ असार २९ गते चुँदीरम्घामा जन्मिएका थिए । (गोरखापत्र)