उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण


टुरिजम पाना संवाददाता काठमाडौं । १७ श्रावण २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ।

प्राधिकरणले विभिन्न विमानस्थलमा निर्धारण गरिएको ‘अपरेसन आवर’को समयभन्दा बाहेकका अतिरिक्त समयमा उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको हो।

मंगलबार प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाइ उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध विषयमा छलफल तथा निर्णय गरेको हो।

जसअन्तर्गत नागरिक उड्डयन नियमावली २०५८ को व्यवस्था कडाइका साथ लागू गर्न उड्डयन तथा हवाइ सुरक्षा नियमन निर्देशनालयमार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गर्ने निर्णय गरेको छ।

हवाइ यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको ‘अपरेसन आवर’भित्र रही सम्बन्धित वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै, आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका २०७९ मा विभिन्न विमानस्थलमा निर्धारण गरिएको ‘अपरेसन आवर’को समयभन्दा अघिपछि विशेष गरी जुलाई, अगस्ट र सेप्टेम्बरसम्म अतिरिक्त समय उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको छ।

१७ श्रावण २०८०