त्रिभुवन विमानस्थलमा हुँदै आएको चार्टर्ड उडान अब भैरहवामा


टुरिजम पाना काठमाडौ । १३ कार्तिक २०७९

सरकारले अब त्रिभुवन विमानस्थलमा हुने चार्टर्ड उडान नगराउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय गरेको हो । काठमाडौंको अन्तर्राष्ट्रिय बिमानस्थलमा अत्याधिक चापका कारण ट्राफिक जाम हुनुका साथै विमानस्थलको ट्याक्सी–वे विस्तारको काम पनि गर्नुपर्ने भएकाले सकेसम्म गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान गराउने निर्णय गरिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

यस्तै प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उडान तालिकामा भैरहवाबाट पनि उड्न बाध्यकारी गराउने गरी त्रिभुवन विमानस्थलबाट हुने केही उडान कटौती गरिदिएको छ ।

प्राधिकरणले आइतबारदेखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २–२ वटा अन्तर्राष्ट्रिय उडान भैरहवाबाट गर्न बाध्यकारी व्यवस्था गरिदिएको छ । दैनिक तीनभन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले पुरानो गन्तव्यमा थप उडान गर्न भैरहवाबाटै उड्नुपर्ने नियम समेत बनाईएको भुलले बताए ।

१३ कार्तिक २०७९