चार दशक अगाडि सोल्टी होटलमा जागिरको अफर, अहिले अमेरिकी सो ‘फेबरेट सेफ’ मा उत्कृष्ट पाँचमा

भान्छाको सर्टिफिकेट हातमा भएकोले मैले सजिलै नाम र दाम कमाउन सकें


सम्राज्ञी भण्डारी काठमाडाैँ । १२ असार २०८१

अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मन पर्ने सेफ)मा नेपाली मूलका सेफ अर्जुन बहादुर थापा उत्कृष्ट  पाँचमा  परेका छन् ।

लामो समयदेखि पाककलामा लागेका सेफ तथा सिक्दै गरेका प्रतिष्पर्धिहरु यस सो मा सहभागीता जनाएका छन् । जसमा उनी उत्कृष्ट व्यञ्जन तथा परिकारको सिर्जना प्रस्तुत गर्नेमा फेबरेट सेफमा उत्कृष्ट पाँचमा छनोट भएका हुन् । शुक्रबार भएको उक्त छनोटपछि उनी अहिले उत्कृष्ट तीनका लागि प्रतिष्पर्धा गरिरहेका छन् ।
उनले आफूले पकाएका परिकारको फोटो सामाजिक सञ्जालमा राख्दै आएका छन् । इन्स्टाग्राममा राखिएको तीनै खानेकुराकाे फोटो हेरेर फेबरेट सेफले उनलाई पनि यस प्रतियोगितामा सहभागी गराएको हो । फेबरेट सेफ एक अनलाइन संस्था हो । टप तीनमा रहेका उनी भोटको आधारमा फाइलनमा पुग्नेछन् ।
प्रतियोगितामा विजेताले २५ हजार डलर प्राप्त गर्ने छन् । नेपाली रुपैयाँ २७ लाख बराबरको पुरस्कार सहित ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा विजयीको प्रोफाइल लेखिने छ । प्रतिष्पर्धामा छनोट भए पश्चात् विजयीले चर्चित अमेरिकी सेफ कार्ला हलमा विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ ।


झण्डै ८९ जना प्रतिष्पर्धीले सहभागीता लिएको यस प्रतियोगीतामा उत्कृष्ट हुन सकेमा नेपाल र नेपाली खानाको बारेमा विश्वका धेरै मानिस थाहा हुने उनी बताउँछन् । यस कार्यक्रममा खानाका पारखीहरुले गरेको भोटका आधारमा विजयीकाे भविष्या निर्धारण गरिनेछ ।
‘फेबरेट सेफ’ धेरै मानिसको रोजाइमा परेको लोकप्रिय अनलाइन हो । यस अनलाइनमा विश्वभरका पाककला निखारिएका सेफ तथा पकाउन जान्ने नयाँ कुकहरुले पनि संसारभरबाट भाग लिन पाउँछन् ।
उनले यस प्रतियोगिता सफल हुन सबैको माया र भरोसा आवश्यक रहेको बताए छन् । उनी भन्छन्, ‘तपाईहरुले भोट गरेर सहयोग गर्नुभएको खण्डमा मैले मेरो र देशको नाम पाककला क्षेत्रमा अझ धेरै चिनाउने मौका पाउनेछुँ ।’ प्रतिष्पर्धाको तेस्रो चरणमा पुग्दा उनले सबैलाई भोटको अपिल गरिरहेका छन् ।

उनले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड जितेका थिए । नेपाल सेफ एसोसिएसनका संस्थनपक सदस्य हुन् । यसै गरी उनी इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्ष समेत रहेका छन् । उनले लामो समयदेखि विश्वका निकै नाम चलेका होटलहरुमा काम गरी रहेका छन् । उनले नेपाली पाककला शैली अन्तराष्ट्रिय स्तरमा पुर् काम गरेका छन् । उनले भान्छामा खानेकुराको परिकार पकाउन थालेको अहिले ४० वर्ष भयो ।


तनहँु जिल्लाबाट आएका प्रायः उनका सबै आफन्त काठमाडौँ स्थित क्षेत्रपाटी रहेको नौलो होटलमा बास बस्थे । त्यहाँ बसेर दाल भात खाएका उनका आफन्तले भनेको कुरा सेफ अर्जुनबहादुर थापा हँसिलो अनुहारमा यसरी सुनाउँछन् । ‘हामी बसेको होटलमा खाएको दाल, भात जस्तै पो हो ? तैले काम गर्ने ठाउँमा पकाउने पनि ।’ उनीहरुलाई बुझाउँदै होइन त्यहाँ दाल, भात मात्र पकाएर हुँदैन । त्यहाँ आउने स्वदेशी तथा विदेशी पाहुनालाई मनपर्ने परिकारहरु पकाउनुपर्छ भन्ने जवाफ दिएको क्षण थापाको समझनामा ताजै छ ।

पहिले उनका परिवार र आफन्तले भात पकाउने भान्छे भनेर उनको कामलाई खासै मन पराउँदैन थिए । अहिले तीनै मानिसहरुले साना भाइ बहिनीलाई अर्जुन जस्तै बन्नुपर्छ भन्ने उदाहरण दिएको सुन्दा निकै खुशि लाग्ने गरेको उनी बताउँछन् ।

बन्दीपुर गाउँपालिका –१ बेलभञ्ज्याङ जन्मिएका उनी विद्यालयको पढाइ सकेर उनी काठमाडौँ आएका हुन् । स्नातक वपढ्दै गर्दा उनलाई काठमाडौँमा के कामगरेर खाने भन्ने लागेको थियो । केहि शिप सिक्न सकियो भने पक्कै केहि गर्न सकिन्छ भन्ने सोंच उनका मनमा गमे ।
यस क्रममा होटल म्यानेजमेन्ट एण्ड टुरिजम ट्रेनिङ सेन्टरमा उनले एक वर्षको तालिम लिए । यो तालिम सकिने बित्तिकै उनलाई सोल्टी होटलले जागिर खान बोलायो । उनले जुन आशमा ट्रेनिङ लिएका थिए, सोहि अनुसार  जागिरको अफर आएको दिन आफू निकै खुशि भएको बताउँछन् ।

यस समय होटलमा काम गर्ने अनुभवी कामदारको कमी थियो । यसरी होटलका व्यवस्थापकले नै ट्रेनिङ सेन्टरमा फोन गरेर ट्रेनिङ पास भएकाहरु काेहि छन् कि भनेर सोध्ने गरेको उनी बताउँछन् । नयाँ सिकारुलाई सिकाउन समय र पैसा बढी लाग्ने भएकोले होटलको प्राथमिकतामा हुँदै लिएका अनुभवीहरु पर्थे । यहाँ उनले सुरुमा १८ महिना सिकारुको ट्रेनिङ लिए । यस अवधिमा उनले महिनाको ४ सय ५० रुपैयाँ पारिश्रमिक पाउथे । यहाँ कुक सम्बन्धि तीन तह पार गरी पाँच वर्ष काम गरे ।

द्वारिका हाेटलको हेड अफ द डिमार्टमेन्टमा पाँच वर्ष सम्म कार्यकारी सेफको रुपमा काम गरे । यहाँ काम गर्दै उनी विहान, बेलुकी सिकारुलाई  ट्रेनिङ दिने काम पनि गर्थे ।
सेर्पा होटल लगायतका होटलमा १५ वर्ष काम गरिसकेपछि उनी विदेश लागेका हुन् । विदेशमा पनि उनको पाककलालाई मानिसहरुले उत्तिकै रुचाउने गरेका छन् । उनका समकालिन साथीहरुले बेला बेलामा उनको कामको प्रशंसा गरिदिदा उनलाई काम गर्न थप हौसाला मिल्ने गरेको बताउँछन् । सबैको सम्मानपूर्वक व्यवहारमा काम गर्न पाउदा उनलाई आफ्नो कामप्रति आत्मसन्तुष्टि मिल्ने गरेको छ ।

समयमा एउटा शिपमूलक तालिम लिएकोले आफूलाई आत्मनिर्भर बनाएको बारे गौरवान्दित हुँदै उनी भन्छन्, ‘त्रिभुवन युनिर्भसिटीको सर्टिफिकेटको भरमा जागिर खान परेको भए मैले कत्ति ठक्कर खानुपथ्र्यो होला । तर, भान्छाको सर्टिफिकेट हातमा भएकोले मैले सजिलै नाम र दाम कमाउन सकें ।’
६१ वर्षीय उनलाई आज पनि जवान जोशमा काम गरिरहेको देख्न सकिन्छ । निकै दत्तचित्त भई काममा लाग्ने उनी विभिन्न विदेशी संघ संस्थाबाट सम्मानित भएका छन् । आफ्नो स्वास्थ्यले साथ दिए सम्म भान्छामा नै काम गर्ने मन भएको उनी बताउँछन् ।
उनी फ्रान्सबाट कुकुङिमा ग्याजुएट गरेका छन् । हाल उनी स्विजरल्याण्ड  प्रख्यात  होटलमा उनी कार्यरत छन् । उनी एक महिनाको विदामा परिवारलाई भेट्न लण्डन आउने गरेका छन् ।

हालै मात्र उनी नेपाल आएका छन् । नेपाल ल्याण्ड हुने बित्तिकै उनलाई अभिप्रेरणमुखी कार्यक्रममा बोल्न लागि विद्यालय तथा कलेजबाट फोन आउन थालिसकेको छ ।

१२ असार २०८१