बन्दीपुर बजार संरक्षित क्षेत्र घोषणा, पौराणिकता झल्कने कार्यक्रमहरू सञ्चालन गरिने


सागर गिरी बन्दीपुर । १२ असार २०८१

पौराणिक सहरको रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ। बन्दीपुरलाई थप आकर्षण बनाउन विशेष पौराणिकता झल्कने कार्यक्रमहरू सञ्चालन गरिने भएको छ।

बन्दीपुर गाउँपालिकाको १५औं गाउँसभामा प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सो कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन्

सोमबार पन्ध्रौँ गाउँसभामा पर्यटनतर्फ नै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको लागि उपयुक्त स्थानमा सांस्कृतिक प्रदर्शनी स्थल बनाइने समेत बताइएको छ।

बन्दीपुरमा आउने पर्यटकहरूको लागत राख्न र होमस्टे होटलहरूको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्रको स्थापना गरिने, होमस्टेहरूको संरक्षण सम्बर्धन र प्रवर्धन गरी होमस्टे सर्किटको विकास गरिने,सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्र लगायतका पर्यटकीय स्थलहरूको संरक्षण सवर्धन र प्रवर्द्धन समेत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

स्थानीय मौलिक स्थान विशेष उत्पादनको पहिचान गरी बजार सम्भाव्यता अध्ययन गरी उक्त उत्पादनको ब्रान्डिङ गरिने, पालिकाले सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादन गरेका हस्तकला सामानहरूको कोसेली घर मार्फत बिक्री वितरण गरिने समेत नीति कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै बन्दीपुर गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूमा क्रमश आउट डोर जिमको विस्तार गर्दै लगिने, पर्यटकीय क्षेत्रहरूमा रहेका प्राकृतिक शिलाहरूलाई थप आकर्षक बनाइने, बन्दीकापुर २५ पोखरी तालपार्कको निर्माण कार्य यसै वर्ष सुरुवात गरिने साथै बृहत झप्रीफाट जलाशय र देवीथुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन गरी अगाडि बढाइने, पर्यटन पूर्वाधारको विकास गरी बन्दीपुरको हरेक गाउँ पर्यटकीय ठाउँको रुपमा प्रवर्द्धन गरिने बताइएको छ ।

यसैगरी बन्दीपुरको पर्यटनलाई विस्तार गर्दै हस्तकला सामान, टुरिस्ट गाइड हस्पिटालिटी ट्रेनिङ, होमस्टे ट्रेनिङ, रैथाने बाली परिकार लगायतका सिपमूलक तालिम सञ्चालन गरी कोसेली घरलाई थप प्रभावकारी बनाइनेछ ।

बन्दीपुरको पर्यटन प्रवर्द्धनलाई थप उचाइ प्रदान गर्न देशका ठूला सहरहरु काठमाडौँ, पोखरा, सौराहा, लुम्बिनी, मुस्ताङ जस्ता पर्यटकीय गन्तव्यहरूमा ‘घुम्न जाउँ है बन्दीपुर’ अभियानलाई निरन्तरता दिइने, बन्दीपुर गाउँपालिका रुपमा विकास गरिने लगायतका विभिन्न कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख रहेको छ।

१२ असार २०८१