चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी खुल्यो, निकुञ्ज र व्यवसायी मिलेर बाटो मर्मत


टुरिजम पाना संवाददाता चितवन । १६ आश्विन २०८०
तस्वीर: बाराही जंगल लज, मेघौली

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला गरिएको छ ।

हाल होटल व्यवसायीहरूले पर्यटकलाई सौराहा, कसरा र मेघौली क्षेत्रबाट जीप सफारी गराउँदै आएका छन् ।

मेघौली क्षेत्रबाट जीप सफारी जाने बाटो सो क्षेत्रका व्यवसायीहरू मिलेर निकुञ्जसँगको समन्वयमा मर्मत संभार भइरहेको बाराही जंगल लजका फूड एण्ड वेभरेज म्यानेजर तेज नारायण थनैतले जानकारी दिए ।

निकुञ्ज क्षेत्रभित्र खहरेले बिगारेको बाटो सुधार गर्ने, ढलेका रुखहरू र झाडी पन्छाउने लगायतका काममा निकुञ्जको टिम लागि परेको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले बताए ।

सौराहा हात्ती तथा जीप बुकिङ सेन्टर र निकुञ्ज जीप सफारी प्रालिले संयुक्त रूपमा सौराहादेखि कसरासम्मको सडक मर्मत गरेको छ । सो मर्मत कार्यमा निकुञ्जको तर्फबाट हेवि इक्युपमेन्ट, काठ तथा जनशक्तिको सहयोग प्राप्त भएको सौराहा हात्ती तथा जीप बुकिङ सेन्टरका सञ्चालक राममणि खनालले जानकारी दिए ।  जसका लागि करिब साढे २ लाख रुपैयाँभन्दा बढी नगद खर्च भएको खनालले बताए ।

पाहुनालाई जंगल सफारीमा लैजाँदा ब्यवसायीले प्रती जीप ५ हजार शुल्क निकुञ्जलाई राजस्व तिर्नुपर्ने हुन्छ । जीपमा सफारी गर्नेहरूबाट नेपाली भए प्रतिव्यक्ति १ सय ५० रुपैयाँ, सार्क राष्ट्रका नागरिकबाट एक हजार रुपैयाँ र विदेशी नागरिकबाट प्रति व्यक्ति २० डलर राजस्व निकुञ्जले सङ्कल गर्दछ । सो शुल्क ब्यवसायीले सफारी जाने पाहुनासँग लिने शुल्कमै जोडेर लिने गरेका छन् ।

गत साल कसराबाट १६, मेघोलीबाट नौ, अमलटारीबाट पाँच, कुजौलीबाट दुई र माडीबाट एउटा जीपले अनुमति पाएका थिए । वर्षात्सँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्डाखुल्डी हुने, खोल्सामा ‘कल्भटर्’ भत्किने भएकाले गत असार १६ गतेबाट जीप सफारी बन्द गरिएको थियो ।

सूचना अधिकारी तिवारीले चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा जीप सफारी हुने गरेको बताए ।

यसका अतिरिक्त मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी, निकुञ्जमा पैदलयात्रा, राप्ती नदीमा डुङ्गा सयरलगायतका पर्यटकीय गतिविधि यहाँ हुने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ पर्यटकको रोजाइमा पर्दछन् ।

तस्वीरहरू: बाराही जंगल लज, मेघौली, चितवन

जीफ सफारीका क्रममा ब्रेकफास्ट लिँदै पर्यटकहरू

 

१६ आश्विन २०८०