दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ । शैलुङको पर्यटन प्रवद्र्धनका लागि स्पार्क कारले आयोजना गरेको तीन दिने कार्यक्रममा दर्जनबढी कलाकारहरू सहभागी थिए ।
सय थुम्काहरूको संगम शैलुङ धार्मिक एवम् पर्टकीय क्षेत्र हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ’हिल स्टेसन’ हो । प्रकृति र पर्यावरणको उत्तम संगम रहेको शैलुङ पर्यटकीय हिसावले पनि निकै महत्त्वपू रहेको छ ।
सय वटा थुम्काहरू मिलेर बनेको शैलुङमा फराकिला हिमशृङ्खला, आकर्षक सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने परिकार, चौंरी गोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिएका छन् ।
कलाकारहरूमध्ये धेरै जसोले आफू शैलुङमा पहिलो पटक आएको अनुभव सेयर गरे । उनीहरूले पहिलोपटक शैलुङ आउँदा निकै गर्व लागेको समेत सुनाए । स्पार्क कारको यस कार्यक्रमलाई उनीहरूले निरन्तरताको शुभकामना समेत दिए । कलाकारहरूले पहिलो पटक क्याम्पिङ टेन्टको मज्जा लिएको समेत सुनाए ।
विजय लामा, क्याप्टेन तथा कलाकार
शैलुङ निकै नै रमाउन पायौँ । यस किसिमको कार्यक्रमले मुलुकको पर्यटन एवम् आर्थिक रूपान्तरणमा उल्लेख्य सहयोग पुग्छ । स्पार्क कारको यस किसिमको काम आफैंमा साहसिक हो भन्ने मलाई लाग्छ ।
साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ’वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष रूपमा स्थलगत अवलोकन गरें । यस ठाउँका कारण स्थानीयको भविष्य उज्जवल बन्ने सम्भावना देखें । अब स्थानीय सरकारले यस ठाउँको प्रवद्र्धन र विकास गर्न सक्नुपर्छ ।
निखिल उप्रेती, एक्सन स्टार
तीर्थ त्यत्तिकै तीर्थ भएको हुँदैन । त्यहाँ जाँदा मानिसको शारीरिक र मानसिक रुपमा स्वस्थ हुने भएर पनि त्यस ठाउँ तीर्थस्थल बनाइएको हुन्छ । शैलुङ बुद्धले टेकेको ठाउँका रुपमा पनि महत्वपूणर् छ । मैले यस ठाउँमा आउँदा निकै आनन्दित महशुस गरें ।
प्रेम राजा महत, लोक गायक
नेपालको पर्यटकीय हिसाबले निकै सुन्दर स्थानका रुपमा शैलुङ रहेछ भन्ने थाहा पायौँ । शैलुङकै विशेषता समेटेर मैले गीत लेख्ने सोच बनाएको छु । यहाँबाट जता हेर्यो उतै सुन्दर लाग्छ । स्वर्गको टुक्रा नै हो जस्तो लाग्छ शैलुङ ।
यश कुमार, गायक
जहाँ जहाँ सहज तरिकाले पुग्न सम्भव छैन । नेपालको यती सुन्दर ठाउँमा सहजै गएर घुम्न सकिएको छैन, त्यसको माध्यम बनेर स्पार्क कार आउनु मेरो विचारमा यो नेपालमै पहिलो हो । यसरी २०० जना हाराहारीमा टिम बनाएर पिकनिक जस्तै सबैसँग खुशी साटासाट गरेर नजिक हुने कार्य भएको छ, जसले निरन्तरता हुनुपर्छ । समयलाई मैले जितेँ, भिटामिन नै पाएँ भन्ने फिल भएको छ । यहाँ आइसकेपछि म केही यहीँसँग सम्बन्धित रचना गर्ने वा गाउने काम गर्छु भन्ने सोच आएको छ । अब प्रकृतिसँग सम्बन्धित गीत बनाउँछु भन्ने सोच आएको छ ।
सन्दीप क्षेत्री, कमेडियन
नेचरसँग नजिक हुन पाइयो । भौगोलिक हिसाबले यो विकट ठाउँ रहेछ । केही आधारभुत चीजहरू जस्तैः शौचालय अलिक राम्रो भइदिएको भए झनै राम्रो हुने रहेछ । विभिन्न मुलुकहरूमा घुम्न गएका थियौँ । भर्जिनियाँको गुफामा एक पटक छिरेको थिएँ । गुफा प्राकृतिक नै थियो तर त्यहाँ सुविधासम्पन्न थियो । त्यसरी एक्ससेस दिनुपर्छ । प्रकृतिलाई नै तुलना गर्ने हो भने यहाँ आधारभुत चीजहरूको विकास हुँदा कति सुन्दर हुन्थ्यो । हामीले धेरै राम्रो चिज पाएका छौँ, तर त्यसको भ्याल्यु क्रेट गर्न भने सकिरहेका छैनौँ
बुद्धिसागर, लेखक
शैलुङ बसाई निकै नै रोचक रह्यो । यस ठाउँमा पहिलो पटक आएको हुँ । काठमाडौंबाट नजिकैको दूरीमा रहेको यो ठाउँ निकै नै विशेष रहेछ । भुईंकुहिरो आयो, काठमाडौंमा ५५,५६ सालतिर भुइँकुहिरो देखिन्थ्यो, अहिले छैन । यहाँ भुइँकुहिरो देखेपछि म नोष्टाल्जिक बन्न पुगें । केही न केही लेखिरहने व्यक्ति भएकाले म यहाँ देखेका कथा तथा परिवेशहरूले कहीँ न कहीँ स्थान पाउँछन् । यहाँको मानिसहरू अझै पनि पाहुनालाई भगवान मान्ने हुनुहुँदो रहेछ । हाम्रो ठाउँको प्रचार गर्नका लागि स्थानीयहरूको सामूहिकता देखें, जसले खुशी दिलायो ।
राजेश घतानी, चलचित्र निर्माता, गायत तथा उद्घोषक
स्पार्कको यसकिसिमको कार्यक्रममा म पहिलो पटक आएको थिएँ । धुलिखेलदेखि नै स्वागत सम्मानमा रमाउँदै आउन पाइयो । रैथाने परिकारको स्वादले हामीलाई निकै नै रोमाञ्चित बनायो । मलाई रामेछाप भन्नेवित्तिकै एकखाले आत्मियता आउँछ । मलाई रामेछापको मन्थली जान मन छ । लामो यात्राको करिअरमा यो दुई दिने बसाईले मनमा अमिट छाप पार्यो । अविष्मरणीय बन्यो । स्पार्क टिमलाई म मुरीमुरी धन्यवाद दिन चाहन्छु ।
।
गरिमा शर्मा, मोडेल
मेरो लागि यो ठाउँ निकै महत्वपूणर् रह्यो । धेरै जनासँग चिनजान भयो, साथीहरू बनाइयो । मैले शैलुङ आउनका लागि भनेर ड्रोन किनेको थिएँ, यहाँ आएर सिक्न पाएँ । टेन्टमा सुत्नु पनि मेरो लागि नयाँ नै थियो । मलाई एकदमै मज्जा लाग्यो । स्टे वाइल्ड विथ चौँरी नामअनुसार नै हामीले अनुभव संगाल्यौँ । म घुम्न रुचाउने व्यक्ति हुँ, स्पार्कले आगामी दिनमा पनि घुम्ने काममा सम्झिन्छ भन्ने विश्वास छ ।
रिना थापा मगर, कलाकार
म एक दिन ढिला यस एडभेञ्चरमा आएको थिएँ । प्रेम राजा महत दाइसँगै आएको थिएँ । सोचेभन्दा धेरै रमाइलो भयो कार्यक्रम । एकदमै अविष्मरणीय रह्यो कार्यक्रम । धेरै प्रतिष्ठित व्यक्तिहरूसँग एकैपटक भेट्ने तथा चिन्ने अवसर मिल्यो, जुन काठमाडौंमा सम्भव थिएन । यहाँ यति धेरै संस्कृतिहरू स्थानीयहरूले बचाएर राख्नुभएको देखें, यसले मलाई निकै आनन्दित बनायो । हामी घुम्न जाँदा दुवई, कतार, बाली घुम्न जान्छौँ । म उहाँहरूलाई आह्वान गर्न चाहन्छु, नेपालभित्रैका ठाउँहरू घुमौँ, यहाँको हावापानीको आत्मियता अन्य ठाउँमा पाइँदैन ।
कैलाश कार्की, कमेडियन
स्पार्कको पहिलो एडभेञ्चर कार्यक्रममा जान पनि मैले भ्याएको थिएँ । यसपाली पनि निकै रमाइलो भयो । आशा छ, अर्को पटक पनि म सहभागी हुन पाउँछु । एकदमै विशिष्ट मानिससँग भेट भयो, उहाँहरूले तीस, चालिस वर्षमा भोग्नुभएको कुरालाई तीन दिनमै पढ्न र बुझ्न पायौँ । यो मेरालागि निकै महत्वपूणर् रह्यो । मलाई यहाँ मेरो जन्म ठाउँ सोलुखुम्बुकै याद आयो । हिउँ पर्ने ठाउँमा अहिले चिसो छ तर हिउँ परेको छैन । मलाई यसले निकै कनेक्ट गरायो, बालापन सम्झिएँ ।