‘चिया कल्चर’लाई ब्राण्डिङ गर्न ‘चियावाला’, सय थरी चिया बेच्दै गणेश


सोनी शाही काठमाडौं । ४ माघ २०७९

शंखमुल करिडोर हुँदै शान्तिनगरतर्फ जाँदै गर्दा, बीच करिडोरमै पर्छ आलोकनगर । वरिपरी हरियाली, मनै लोभ्याउने खालको ।

करिडोर नछोडी जाँदै गर्दा रोडको देब्रेपट्टी एउटा चिया पसलमा टक्क आँखा पुग्छ । देखिन्छ–चियावाला ।
त्यहाँ पुग्ने जो कोहीलाई छुट्टै अनुभूति दिलाइदिन्छ, चियाको बास्नाले ।

चियावाला । चिया पारखीका लागि नामै काफी छ । चियावालाको परिसरमा पाइला राख्दै गर्दा देब्रेतर्फको भित्तामा देखिन्छ, ‘मेरो खुशी–चिया ।’

भित्ताका बाँकी भागहरूमा चिया कपमा राख्दै गरेकी बुढी आमाको आकृति तथा अन्य धेरै आकृतिहरू आँखैमा बस्छन् ।
भुँईमा पूरानो टिभी, पूरानै टाइपराइटर देख्दा झलझली याद आउँछ, बाल्यकाल ।

सम्झना आउँछ चर्चित गीत–‘कहाँ फर्केर आउँछ घुमेर, यो बालापनको उमेर’ । गीतले भनेजस्तै विगत झलझली याद आउँछ, त्यो दृष्य नियाल्नेहरूलाई ।

‘चियावाला’ ।

चलचित्र निर्माता गणेशदेव पाण्डेले आजभन्दा करिब ५ वर्ष अघि (सन् २०१८) काठमाडौंको आलोकनगरमा चियावाला शुरू गरेका हुन् । चियावाला एक यस्तो चिया पसल हो, जहाँ चिया पिउनका लागि चियापारखीहरूको दैनिकजसो घुँइचो लाग्छ ।

गणेशका हजुरबाले सन् १९५६ मै चिया बिक्री गर्ने गर्दथे । आफूलाई चियाको शोख बसेपछि हजुरबाले चिया पकाएर बिक्री गर्ने गरेको गणेश सुनाउँछन् । यसलाई निरन्तरता दिँदै उनका बुवा घनश्यामले सन् १९७५ देखि त्यो चियापसल सम्हाले । जुन चिया पसल सन् २०१६ सम्म सञ्चालनमा रह्यो । त्यतिखेर त्यो चिया पसलको कुनै नाम थिएन, अर्थात व्यवसायिक थिएन । बुटवलमा सञ्चालित सोही चियापसलले गणेशका बुवा आमाको जिविकोपार्जन भयो । सोही चिया पसलको आम्दानीले गणेश लगायत उनका ३ भाइ र बहिनीले शिक्षा पाए । २०१६ पछि भने बुवाले पसल सञ्चालन गर्न छाडे ।

आफ्नो हजुरबा र बुवाले लामो समयसम्म चिया पसलबाटै जिविकोपार्जन गरेकाले गणेशमा पनि चिया पसल खोल्ने रहर पलायो । एकातिर आफ्नो जिविकोपार्जन पनि हुने, अर्कातिर बुवाको सम्मान पनि हुने । सोही कारण उनले चिया पसल खोल्ने योजना बुन्न थाले ।

चलचित्र क्षेत्रमै काम गर्दैगर्दा उनले आफ्नो हजुरबा र बुवाले सञ्चालन गरेको चिया पसललाई सम्झिरहेका हुन्थे ।
उनलाई बुवाले लामो समयसम्म चिया पसल सञ्चालन गरि जिविकोपार्जन गरेर आफूहरूलाई हुर्काएको सम्झना आउन थाल्यो ।

त्यसपछि उनमा बुवाले चलाएको चिया पसललाई ब्राण्ड नै बनाएर अगाडि बढाउने र आफू पनि व्यवसाय गर्ने सोच पलायो । उनले सो सोचलाई काममै परिणत गरे, सन् २०१८ मा चियावाला शुरू गरेर । चियावाला नाम आफ्नो परिवार पहिलेदेखि नै चियावाला हो है भन्ने हिसाबले राखेको गणेश बताउँछन् ।

उनी भन्छन्,‘चियावाला भन्यो भने मलाई गर्व लाग्छ, हामी पहिलेदेखि नै चिया बेच्थ्यौं भन्ने लाग्छ,’ उनले भने,‘त्यसै कारण नाम चियावाला नै राख्ने मैले निर्णय गरें ।’

चियावाला नामको चियापसल अहिले ब्राण्ड जस्तै बनेको छ । सो चिया पसलमा चिया पारखीहरूको साँझबिहान सधैं भीड लाग्ने गरेको पाण्डे बताउँछन् ।

उनका अनुसार, अहिले दैनिक करिब चार सय जना चियाका पारखीहरू त्यहाँ पुग्छन् । दैनिक ६० लिटर दुधको चिया खपत हुने गरेको छ त्यहाँ ।

जहाँ पाइन्छन् सय थरी चिया
चियावाला चिया पारखीका लागि यस्तो चिया सेन्टर हो, जहाँ आफूले मन लागेको चिया पिउन पाइन्छ । पाण्डेका अनुसार, चियावालामा करिब सय थरी चिया पाइन्छ । ‘यति धेरै चियाका प्रकारहरू राख्नु भनेको ग्राहकलाई मन लागेको चिया पिउनु भन्नु हो,’ उनी भन्छन्,‘हामीले हाम्रो रोजाइको चिया दिने हैन, यहाँ चिया पारखीले आफ्नो रोजाइको चिया पिउन पाउनुहुन्छ ।’

सय थरी चियामा सबै चियाको आआफ्नै मिठास छ । त्यस मध्येमा पनि चिया पारखीको बढी रोजाइमा घनश्याम चिया, मेरो खुशी चिया लगायत पर्ने गरेका छन् ।

पाण्डे आफैं पनि घनश्याम चिया पिउन रुचाउँछन् । घनश्याम चिया उनले आफ्नो बुवाको नामबाट नामाकरण गरेका हुन् ।

उनका अनुसार, उनका बुवा घनश्याम पनि आफ्नो काममा सिधा तथा इमान्दारी छन् । चिया पसल चलाउँदा पनि उनको बुवाले सधैं इमान्दार भएर काम गरेका थिए । त्यसकारण उनले घनश्याम चिया बुवालाई नै सम्मान गर्दै नामाकरण गरे । उनी भन्छन्,‘घनश्याम चिया बुवाजस्तै सिधा छ ।’

चिया पसलकै आउटलेट
चियावाला यति धेरै लोकप्रिय बनेको छ कि, काठमाडौं उपत्यका र बुटवलमा गरि अन्य ३ ठाउँमा आउटलेट विस्तार भएको छ । पाण्डेले अहिले परिवारका सदस्यहरूलाई चिया व्यवसायमा केन्द्रित गराएका छन् । आलोकनगरमा रहेको आउटलेट पाण्डेले सञ्चालनमा ल्याएको पहिलो आउटलेट हो ।

उनको बुवाले बुटवलमा लामो समयसम्म चिया पसल सञ्चालन गरेको भएपनि बीचमा रोकिएको थियो । त्यसपछि गणेशले काठमाडौंको आलोकनगरमा आउटलेट सञ्चालनमा ल्याएका हुन् । ‘बीचमा रोकिएपछि मैले पुनः सञ्चालनमा ल्याएँ । आलोकनगरको आउटलेट पहिलो हो,’ गणेश बताउँछन् ।

त्यसपछि उनले काठमाडौंको चाबहिल र ललितपुरको झम्सिखेलमा पनि आउटलेट विस्तार गरेका छन् । यस्तै बुटवलमा पनि चियावालाको आउटलेट छ ।

उनका अनुसार, चाबहिलको आउटलेटको नेतृत्व उनको बहिनीले गरिरहेकी छन् भने झम्सिखेलमा भाइ, आलोकनगरमा श्रीमतीले आउटलेट सञ्चालन गरिरहेका छन् । बुटवलमा बुहारीको नेतृत्वमा माघ १ गतेदेखि चियावालाको नयाँ आउटलेट सञ्चालनमा आएको छ ।

यसरी परिवारलाई नै चिया व्यवसायमा व्यस्त गराउने पाण्डे आफू अहिले नेतृत्वदायी भूमिकामा मात्रै रहेको बताउँछन् । उनी भन्छन्,‘म क्रिएटर भएँ, आइडिया क्रिएट गर्दै काम गर्ने गरेको छु ।’

उनका अनुसार हरेक आउटलेटमा पाँच/पाँच जना जनशक्ति छन् । झम्सिखेलमा भने ३ जना कर्मचारीले काम गर्दै आएको उनको भनाइ छ ।

कवाडी सामानबाट बाल्यकालको झल्को
पाण्डेले चियावालाको आउटलेटमा पूरानो टिभी, ढुङ्गा, पूरानो साइकल, पूरानो टाइपराइटर लगायत राखेका छन् । उनी भन्छन्,‘मलाई यी चिजहरू देख्दा बाल्यकालको झल्को आउँछ । त्यसैले यस्ता चीजहरूलाई कवाडीबाट उठाएर यहाँ राखें ।’

आलोकनगर स्थिति आउटलेटको रिसेप्सन अगाडिको भित्तामा चार जना चलचित्र निर्माताहरूको तस्वीर उनले राखेका छन् ।

पाण्डे तस्वीरको व्याख्या गर्दै भन्छन्,‘चिया पकाउँदै पोस्टर हेर्दै गर्दा मलाई तँ फिल्म बनाउने मान्छे हो, बनाउनुपर्छ है भनेर झकझकाइरहुन् भन्ने लाग्छ । त्यसैले उहाँहरूको तस्वीर राखें ।’

उनले प्रायः आउटलेटमा विभिन्न कलात्मक डिजाइन बनाएका छन् । जसले गर्दा पसल सुन्दर देखिने र आउटलेट मात्र नभई शहर नै सुन्दर हुने उनको बुझाइ छ ।

आफूले जस्तै अरूले पनि आफ्ना व्यवसायमा कलाको प्रयोग गरि कलात्मक प्रयोग गरेमा शहर सुन्दर हुने उनको बुझाइ छ ।

उनी भन्छन्,‘कलात्मक डिजाइनले यसको सुन्दरतालाई पनि देखाउँछ । जसले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्छ ।’

चियासँगै चलचित्रमा

पाण्डे चिया व्यवसायी मात्र हैनन्, चलचित्र निर्माता पनि हुन् । अझै भन्ने हो भने उनले चलचित्र निर्माण तथा लेखनमा निकै सक्रिय छन् उनी । हालै उनको चलचित्र ‘जुलेवी’ निर्माणको क्रममा रहेको छ । उनी भन्छन्,‘म भित्र कला छ भन्ने लाग्छ । त्यो कलालाई कहिले चियामा त कहिले चलचित्रमा देखाउने प्रयास गरिरहन्छु ।’

चियावालाको स्थापना पछि त्यो करिडोरमा अन्य लगानी थपिए । अहिले त्यो ‘रेस्टुरेन्ट लाइन’ भएको छ ।

चिया हाम्रो जनजिवनमा अपरिहार्य जस्तै पेय हो । पाहुना लाग्दा होस् या साथीहरू भेट्दा स्वागत/सम्मानको लागि चिया नै रोजाइमा पर्छ । ७० को दशकमा नेपालमा कफिले राम्रै बजार लियो । कफीलाई नै केन्द्रित गरि यसका धेरै आउटलेट खुले तर चियाको भने ब्राण्ड जम्न सकिरहेको थिएन ।

चियाका पनि ‘भेराइटी’ छन् अनि यसको पनि ब्राण्ड बन्न सक्छ भनेर गणेशले हिम्मत गरे । गणेशकै पदचाप पछ्याउँदै अहिले काठमाडौ र काठमाडौ बाहिर चिया लक्षित ब्रान्डहरू चिया अड्डा, चिया सागर, चियादानी, घैंटे चिया, दारी भाइको चिया पसल, मट्का चिया लगायत स्थापित भइरहेका छन् ।

४ माघ २०७९