चोयु हिमालको सफल आरोहण गर्ने टोलीलाई सम्मान

नेपालबाट पहिलोपटक उक्त आरोहण गर्न सफल


टुरिजम पाना काठमाडाैँ । २९ जेष्ठ २०८१

काठमाडौँ स्थित पर्यटन बोर्डको हलमा सोमबार आयोजित कार्यक्रममा नेपालबाट पहिलोपटक चोयु हिमालको सफल आरोहण गर्ने टोलीलाई सम्मान गरिएको छ ।

नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघको संयुक्त रुपमा आयोजना भएको कार्यक्रममा काठमाडौं आइपुगेको उक्त टोलीलाई सम्मान गरिएको हो । कार्यक्रम बोल्दै पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले लामो समयको प्रयासमा नेपालतर्फबाट उक्त टिमले गरेको सफल आरोहणले नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा नै राम्रो प्रभाव पारेको बताए ।

उक्त टिमले साहसिक र जोखिमपूर्ण आरोहण गर्न सकेकोमा धन्यवाद दिंदै उनले यस टिमले नेपालको गरिमा बढाउन र अन्तर्राष्ट्रिय बजारमा प्रचार–प्रसार गर्न सहयोग गरेको समेत बताए ।

नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले सगरमाथा आरोहणपछि चोयु हिमाल आरोहणले विश्वमा नेपाल चिनाउन सफल भएकोमा उक्त टिमप्रति आभार प्रकट गरे । आरोहीलाई निमित्त कोष स्थापना गर्ने बारे बोल्दै उनले भने, ‘हामीले मे २९ मा सगरमाथा दिवस मनाइरहदा पर्यटन मन्त्री हितबहादुर तामाङ र प्रधानमन्त्री पुष्पकमल दाहालले आरोही कल्याण कोष स्थापना गरी आरोहीलाई सम्मान गर्ने अभियान अगाडि बढाउँछौं भन्नुभएको थियो, त्यो छिट्ट्र्रै होस् ।’ साथै उनले ८ हजार मिटर भन्दा अग्ला हिमालहरु आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्ने व्यवस्था गर्न सके नेपालको अर्थतन्त्रमा टेवा पुग्ने धारणा राखे ।

नेपाल पर्यटन बोर्डको उपाध्यक्ष रामप्रसाद सापकोटाले चीनबाट आरोहण हुँदै यस यस हिमाल आरोहणको रोयाल्टी चीनलाई बुझाउने गरिएको थियो । अबका दिनमा नेपालबाटै सफल आरोहण गर्न संभव भएको बताए ।

सेभेन समिट टेक्सका अध्यक्ष मिग्मा शेर्पाले नेपालतर्फबाट नयाँ रुट हुँदै चोयुको पहिलो पटक आरोहण सफल भएको बताए ।

एक जना विदेशीसहितको सात जनाको टोलीले मे २४ गते बेलुकी ८ः३५ मा उक्त आरोहण गर्न सफल भएको हो । यस अघि उनीहरुले चीनतर्फबाट उक्त हिमाल आरोहण गर्दै आएका थिए ।

दोस्रो प्रयासमा उक्त आरोहण गर्न सफल भएको यस टोलीमा नेपालबाट तेन्जिङ ग्याल्जेन शेर्पा, गाल्जे शेर्पा, लाक्पा तेन्जी शेर्पा, छान्वा सेर्पा, लाक्पा तेम्वा शेर्पा, निग्मा ओङदा र फ्रान्सका अलास्डिर म्याकान्जी आरोही रहेका छन् ।

२९ जेष्ठ २०८१