काठमाडौंको नजिकै अर्को पर्यटकीय गन्तव्य, जाने हैन त सूर्यचौर नेचर रिट्रिट ?


टुरिजम पाना संवाददाता काठमाडौं । २९ जेष्ठ २०८१

काठमाडौंबाट नजिकैको दूरीमा अर्को पर्यटकीय गन्तव्य सूर्यचौर नेचर रिट्रिट सञ्चालनमा आएको छ । नुवाकोटको सूर्यचौरमा सूर्यचौर नेचर रिट्रिट प्रालिले सो रिट्रिट सञ्चालनमा ल्याएको हो ।

सुन्दर हिमालयको दृश्यावलोकन गर्दै शान्त वातावरणमा समय बिताउन रिट्रिट उत्तम विकल्प बन्नेछ ।

रिट्रिट काठमाडौंको सामाखुशीबाट १३ किलोमिटरको दूरीमा पर्दछ । व्यस्त र कोलाहलबाट केही पर पुगेर प्रकृतिसँग आत्मालाप गर्नका लागि पनि रिट्रिट उत्तम गन्तव्य हो ।

रिट्रिटमा आवासका लागि ठूला ठूला १० कोठा र ४ लक्जरी सफारी टेन्ट रहेका छन् । जसमा एक रातमा ४० जनासम्म अटाउन सकिने रिट्रिटका सञ्चालक राजन सिंखडाले बताए । एउटा कोठामा ५ जनासम्म बस्न सकिनेछ ।

गुर्जेभञ्ज्याङबाट डेढ किलोमिटर दूरीमै पर्ने यस रिट्रिट प्रकृति मन पराउनेहरूलाई लक्षित गर्दै बनाइएको हो । साइक्लिङ, हाइकिङ तथा सवारी साधनमार्फत नै रिट्रिटसम्म पुग्न सकिनेछ । साथै ससाना गाउँहरूको भ्रमणका लागि पनि सूर्यचौर उत्तम गन्तव्य भएको सिंखडाले बताए ।

काठमाडौंको नजिकैबाट वाइड हिमालयन रेञ्ज र शान्त वातावरण भएकाले रिट्रिटमा पारिवारिक, साथीभाइको ग्यादरिङ तथा अन्य घुमघामका लागि उपयुक्त हुने सिंखडाले बताए ।

कम्पनीको यो करिब ३० करोड रुपैयाँ लगानीको विशेष परियोजना हो । परियोजनाका लागि २७ रोपनी जग्गा छुट्याइएको छ । सोही मध्ये करिब ६ रोपनी जग्गामा करिब सात करोड रुपैयाँ लगानीमा अहिलेको संरचना तयार पारिएको सिंखडाको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, पर्यटन व्यवसायी सिंखडा, जेबी सिंह, हेमराज बराल र कृष्ण घिमिरेलगायतको सामूहिक लगानीमा रिट्रिट सञ्चालनमा ल्याइएको हो ।

सिंखडाका अनुसार, पूरै परियोजना सम्पन्न हुँदा रिट्रिटमा ६५ वटा कोठा हुनेछन् । कम्पनीले केही समयमै सोही ठाउँबाट प्याराग्लाइडिङ सञ्चालन गर्ने समेत तयारी गरिरहेको छ ।

रिट्रिटमा पर्यटकहरूका लागि ठूलो जायन्ट स्वीङ पनि राखिएको छ । जसमा थ्रिल महशुस हुनुका साथै काठमाडौं उपत्यका र हिमालको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ ।

कम्पनीले विभिन्न किसिमका प्याकेजहरूमा सेवा दिन सुरू गरेको छ । जसअनुसार, एक रातका लागि बेड एण्ड ब्रेक फास्टका लागि प्रतिकोठा ५ हजार रुपैयाँ पर्नेछ ।
यस्तै डिनर र ब्रेकफास्ट सहितको प्याकेजमा प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ लाग्नेछ । यस्तै ग्लेम्पिङमा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ लाग्नेछ । जसमा डिनर र ब्रेकफास्ट सुविधा सहित ४ जनासम्म बस्न सकिनेछ ।

२९ जेष्ठ २०८१