स्याङ्जाको ढाँडेमा पाँच दिने होमस्टे तालिम सम्पन्न


युवराज पौडेल स्याङ्जा । २ चैत्र २०७९

स्याङ्जाको पुतलीबजार ५ बिम्दी ढाँडेमा पाँच दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

युएनडिपी र नेपाल पर्यटन बोर्डको साझेदारीमा संचालित जीविकोपार्जनका लागि पुनरुत्थान कार्यक्रम अन्तर्गत सहकार्य समाज नेपालको आयोजनामा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ५ बिम्दी ढाँडे हुलाक सामुदायिक होमस्टेमा संचालित सात दिने होमस्टे व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न भएको हो ।

गण्डकी प्रदेश सभाका माननीय सदस्य सुधीरकुमार पौडेलको प्रमुख आतिथ्य र पुतलीबजार नगरपालिकाका मेयर तुल्सीराम रेग्मीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४० जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सुधीरकुमार पौडेलले होमस्टेमा मौलिकपन देखिनुपर्ने बताए । यस्तै कार्यक्रममा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले होमस्टेका माध्यमबाट महिलाहरू आत्मनिर्भर हुन सक्ने भएकाले होमस्टेको प्रवर्धनमा पालिकाले सहयोग गर्ने बताए । उनले मगर समुदायको आफ्नै भाषा संस्कृति भएकाले बिम्दी ढाँडे सामुदायिक होमस्टे अगाडि बढ्ने बताए ।

तालिम कार्यक्रममा प्रमुख प्रशिक्षक भुमराज तिवारीले तालिम प्रशिक्षण दिएका थिए भने नेपालकै पहिलो होमस्टे सिरुबारी सामुदायिक होमस्टे सञ्चालिका समेत रहेकी उर्मिला गुरुङको पनि उपस्थिति थियो ।

तालिम कार्यक्रममा मिलिनियम होमस्टे, सादिखोला भारकोट ढाँवा र बिम्दी ढाँडे हुलाक सामुदायिक होमस्टेका संचालकहरु सहभागी थिए । तालिम अवधिमा सिरुबारी होमस्टेको अध्ययन र अवलोकन भ्रमण समेत सम्पन्न भएको थियो ।

२ चैत्र २०७९