नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा ल्याईएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा ल्याएको हो । दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो । कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ ।
तीन तलाको क्रुजसिपमा कुल एक सय ८० जना सवार गर्न सक्नेछन् । क्रुजसिपमा यात्रा गर्ने यात्रुहरुको रू १० लाख बराबरको बीमा गरिएको छ ।क्रुजसिपमा सवार हुनका लागि टिकट सात सय, ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लञ्च क्रुजिङ दुई हजार र डिनर क्रुजिङ दुई हजार पाँच सय तेकिएको कम्पनीका कार्यकारी निर्देशक दीपक ढुङ्गेल बताए ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन छ । एक पटकमा यात्रुले करिब एक घण्टा नारायणी नदीमा क्रुजको मज्जा लिन पाउनेछन् ।
क्रुजसिपमा विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए । क्रुजसिप निर्माणमा रु १५ करोड बढी खर्च भएको कँडेलले बताए ।
उनका अनुसार क्रुज सञ्चालनका लागि ४० किलोमिटरसम्मको अनुमति लिइएको छ । रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने उनले जानकारी दिए । क्रुजसिपभित्र रेष्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ ।