दुवै खुट्टा नभएका मगरको साहस, सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान


टुरिजम पाना काठमाडौं । २२ चैत्र २०७९

दुवै खुट्टा नभएका पूर्वगोरखा सैनिक समेत रहेका हरि बुढा मगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

शारीरिक रूपमा अशक्त उनका दुवै खुट्टा छैनन् । उनी कृतिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । उनी कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुन् ।

सगरमाथा आरोहणमा सोलुखुम्बु जानुभन्दाअघि उनले पाँच वर्षको पर्खाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए । उनले शारीरिक अशक्त भएका व्यक्तिहरू कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास आफूजस्तै अन्य साथीहरूमा जगाउन सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए ।

उनले आफ्ना लागि सगरमाथा आरोहणको समय दुई महिनाको हुने जानकारी लिए । सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् ।

उनले मोन्ट ब्लाङ्क (४,८१० मिटर) , चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरिसकेका छन् । उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए ।

२२ चैत्र २०७९