नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सिईओ) दीपकराज जोशीले आइतबार पद बहाली गरेका छन् । पद बहालीका क्रममा सिईओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्नु पर्ने उनको भनाइ छ । उनी भन्छन् ‘पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो । अर्कोतर्फ पर्यटन बोर्ड (पीपीपी) को मोडल हो । निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ । त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडी लैजानु आजको आवश्यकता हो ।’
उनका अनुसार, आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहनेछ ।
साथै आफू कुनै पूर्वाग्रह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनकासाथ काम गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
सो कार्यक्रममा बोर्डका अधिकृत सुदन सुवेदीले लामो समय देखि कर्मचारीको वृत्ति विकास रोकिएको बताउँदै प्रमुख जोशीबाट कर्मचारीका ती माग सम्बोधन हुने अपेक्षा गरिएको बताए ।
नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९ औं बैठकले जोशीलाई चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निणर्य गरेको थियो । सिईओ जोशीले यसअघि पनि बोर्डको सिईओका रुपमा काम गरिसकेका थिए ।