मुलुकको साहसिक पर्यटन क्षेत्रका पायोनियर व्यक्ति हुन् सानोबाबु सुनुवार । रामेछापमा जन्मिएका उनी बाल्यकालदेखि नै र्याफटिङ लगायतका साहसिक पर्यटकीय गतिविधिमार्फत यस क्षेत्रमा होमिएका हुन् ।
नेपालको साहसिक पर्यटनमा अग्रणी व्यक्तित्व सुनुवार नेपाल हवाई खेलकुद संस्थाको दशौँ अधिबेशनमार्फत अध्यक्ष पदका लागि भिड्दै छन् । यही भदौ २५ गतेदेखि सुरु हुने अधिवेशनमा नयाँ कार्यसमितिको नेतृत्वका लागि सम्पूर्ण तयारी पूरा भइसककेको उल्लेख गर्दै उनले आफू विजयी भए संस्था, यसका सदस्य, व्यवसायको पूर्णरुपमा हित हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले नेपालको पर्यटकीय राजधानी पोखरालाई साहसिक पर्यटकीय क्षेत्र भनेर चिनाउने र प्याराग्लाईडिङ व्यवसायलाई पुनः एक दशक पहिलेकै अवस्थामा ल्याउन पहलकदमी गर्ने योजना बनाएको सुनाए । साथै पर्यटकीय व्यवसायको अन्य छाता संगठनसँग सहकार्य तथा सहयोग लिई सो कार्यलाई सफल बनाउनेमा उनले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
“पोखरालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन तथा प्रचारप्रसारमा एकल उडान प्याराग्लाइडिङ्गको ठूलो योगदानको सम्मान गर्दै सम्बन्धित निकायसँग पहल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचलित नियमअनुसार पुनः सोलो प्याराग्लाइडिङ्ग उडान पोखरा क्षेत्र तथा सम्भावित नेपालभर सञ्चालन गराउने पनि योजना छ”, उनले भने ।
सुनुवारले सम्पूर्ण व्यवसायिक कम्पनी तथा व्यवसायिक पाइलटहरुको हकहित हुनेगरी सदस्यहरुको सल्लाह र निर्णय बमोजिम सम्बन्धित निकायबाट इजाजत तथा व्यवसायी पाइलट पारिश्रमिक सदस्यको निर्णयानुसार नै सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । साथै व्यवसाय सञ्चालन गर्न आवश्यक उडान सामग्री, यातायात, कार्यालय, सुरक्षित र व्यवस्थित टेक–अफ तथा ल्यान्डिङ्ग, आपतकालिन सुरक्षाको व्यवस्था निर्णय, निरीक्षण सम्पूर्ण कार्य संस्थाका सदस्यहरुले निर्णय गरेका समितिबाट निष्पक्ष कार्यान्वयन गराउने उनले बताए ।
‘समिट टु सी’ अभियान
सन् २०११ मा, सानोबाबु सुनुवारले विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा (८,८४८ मिटर) बाट सबैभन्दा होचो समुन्द्रको सतह, बंगालको खाडीमा उड्ने र नदीमा कायकिङ गर्ने उद्देश्यले ‘समिट टु सी’ अभियान सुरु गरे । उनले सगरमाथाको चुचुरोबाट सन् २०११ मे २१ मा प्याराग्लाइडिङमा उडान भरेर २८ जुनमा समुद्री सतहमा पुग्न सफल पनि भए ।
उक्त अभियानपछि सानोबाबुको साहसिकताको चर्चा विश्वभर फैलियो । उनको यो सफलता नेशनल ज्योग्राफी च्यानलले सन् २०१२ मा साहसिक (एड्भेन्चरर) व्यक्ति घोषणा गर्यो । उक्त अभियानमा सानोबाबु र उनका साथी लाक्पाछिरी शेर्पाले १२ दिन प्याराग्लाइडिङ र २८ दिन पानीमा कायकिङ गर्दै बंगालको खाडीमा पुगेका थिए । यो यात्रा विश्व रेकर्डको रूपमा गिनिज बुकमा पनि समावेश छ ।
सगरमाथा पछि सानोबाबुको लक्ष्य हिमालयका अन्य अग्ला शिखरहरूमा प्याराग्लाइडिङ गर्ने थियो । उनले अफ्रिकी महाद्वीपको सबैभन्दा अग्लो हिमाल, किलीमान्जारोबाट पनि सफल प्याराग्लाइडिङ गरे । यस प्रतिष्पर्धामा विश्वभरका हजारौं साहसिक पाइलटहरूको बीचमा सानोबाबु छनोटमा परे । युरोपका अग्लो हिमालहरूमा पनि उनले सफल उडान भरे । जसमा माउन्ट एल्ब्रस पनि समावेश छ । माउन्ट एल्ब्रसबाट टेण्डम उडान गर्दै नयाँ रेकर्ड बनाउने सानोबाबु पहिलो पाइलट बने ।
उनका छोरा हिमालयशम्शेर सुनुवार पनि ९ वर्षकै उमेरमा प्याराग्लाइडिङ पाइलट बनेका छन् । उनकी पत्नी सुस्मिता कायकिङमा च्याम्पियन हुन् । अहिले बाबु एड्भेन्चरर्स समूहको व्यवस्थापन सुस्मिताले सम्हाल्दै आएकी छिन् ।
सानोबाबु सुनुवारले सन् २००३ मा सेती नदी कायकिङ प्रतियोगितामा च्याम्पियन बनेपछि कायकिङमा गहिरो रुचि राख्न थाले । उनले विभिन्न चुनौतीपूर्ण नदीहरूमा, जस्तै अप्ठ्यारा गल्छी र खोँच, कायकिङ गर्दै आफ्नो साहसिकता प्रमाणित गरे । सन् २००४ मा उनले सेती नदीमा कायकिङ गर्दै दुई घण्टामा रामघाट पुग्न सफल भए, जुन त्यसपछि यो नदीमा कुनै अन्य व्यक्तिले कायकिङ गरेको थिएन ।
सानोबाबु १५ वर्षको उमेरमा नेशनल जूनियर च्याम्पियन, १६ वर्षमा नेशनल च्याम्पियन र १७ वर्षको उमेरमा बेलायती संस्थासँग अन्तर्राष्ट्रिय ह्वाइट वाटर कायकिङमा काम गर्ने अवसर पाए । उनले भुटान, नेपाल, तिब्बत, भारत, र पाकिस्तानका १५० नदीनालामा कायकिङको सम्भावना र अध्ययन गरिसकेका छन् । उनले विश्वका ४० विभिन्न देशमा प्याराग्लाइडिङ र कायकिङ गर्दै जोखिमपूर्ण यात्रामा अनुभव संकलन गरेका छन् ।
स्वरेक सपना
नेपालमा प्याराग्लाइडिङको भविष्यमा सानोबाबुको महत्वपूर्ण योगदान छ । पोखराको उपयुक्तता नभएको कारण उनले ५८ किमी टाढाको स्याङ्जाको स्वरेक क्षेत्रमा प्याराग्लाइडिङ स्कूल स्थापना गरेका छन् सन् २०१४ देखि ‘बाबु एड्भेन्चरर्स’ नामक स्कूलमा पाइलट तालिम दिने काम सुरु गरेका सानोबाबुले २०१८ मा स्याङ्जामा प्याराग्लाइडिङ वल्र्डकप आयोजना गरेका थिए । यसका साथै, सन् २०१८ मा जाकार्तामा भएको एसियन खेलकुदमा प्याराग्लाइडिङ विधामा उनको टिम दोस्रो भएको थियो ।
स्वरेक हवाई खेलकुदका लागि अनुकुल मानिन्छ । उक्त क्षेत्रलाई उनले ‘स्वर्गको टुक्रा’ भनी वर्णन गरेका छन् । जुन अहिले दक्षिण एसियाको प्रमुख प्याराग्लाइडिङ गन्तव्यका पनि परिचित छ । उनको उक्त प्रशिक्षण केन्द्रमा आधारभूतदेखि एडभान्ससम्मको प्याराग्लाइडिङ कोर्स पढाइ हुन्छ । जहाँ यतिबेला विदेशी र स्थानीय विद्यार्थीले प्रशिक्षण लिइरहेका छन् । पछिल्लो समय यो क्षेत्र प्याराग्लाइडिङको शिक्षा र व्यावसायिक विकासको लागि प्रमुख स्थल बनेको छ ।