संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले चार वर्षको स्पष्ट खाका लिएर आएकाले कार्यकाल सफल हुनेमा विश्वास व्यक्त गरेका छन् ।
नवनियुक्त सीइओ जोशीको स्वागत कार्यक्रममा मन्त्री पाण्डेले आफू मन्त्री भएर आउँदा बोर्डको आलोचना भइरहेको समयमा अहिले यसले नेतृत्व पाएको बताए । उनले मन्त्रीका रुपमा आफूले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउँदै गलत नियतले कसैको एक कप चिया पनि नराखे र कसैलाई पनि गलत फाइदा लिन नदिने गरी आफू सचेत रहेको बताए ।
“म मन्त्री हुने समयमा धेरैले बोर्डले काम गर्न सकेन भन्दै खारेज गर्नुपर्छ भन्ने सुझाव दिएका थिए, तर अहिले बोर्डले नेतृत्व पाएको छ । अब राम्रो काम गर्न म निर्देशन दिन्छु”, उनले भने । उनले पर्यटन ऐन निकै पुरानो भएकाले यसलाई आफूले सबैको सल्लाह र सुझावका आधारमा संशोधन गर्नेमा विश्वास दिलाए ।
उनले व्यवसाय गर्नेलाई माफिया वा बुर्जुवा भन्ने भाष्य स्थापित गर्न खोजिनु बिडम्बना भएको उल्लेख गर्दै लगानी गर्नेलाई सोहीअनुसारको वातावरण आवश्यक भएको बताए । मन्त्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था खराब भएकाले यसको सुधारलाई आफूले प्राथमिकतामा राखेको समेत बताए ।
“नेपाल एयरलाइन्स निकै खराब अवस्थामा छ, यसलाई सबै यात्रुको पहिलो रोजाइको विमान बनाउनका लागि सुधार जरुरी छ, यसका लागि सबैको साथ चाहिन्छ”, उनले भने । मन्त्री पाण्डेले हामीले विमानस्थल निर्माणमा लगानी गरे पनि विमानमा लगानी गर्र्न नसकेको बताए । उनले विमानस्थल सञ्चालन गर्न पनि नसकेको स्वीकार गरे ।