नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले चार वर्षे कार्यकालको योजना सार्वजनिक गरेका छन् । साेमबार आयोजित एक कार्यक्रममा आफूले चार वर्षमा कुन वर्षमा के गर्ने भन्ने योजना नै बनाएको बताए ।
उनले सन् २०२५ लाई ‘इयर अफ सर्भाइभल’, सन् २०२६ लाई ‘इयर अफ रिभाइभल’, सन् २०२७ लाई ‘इयर अफ थर्भाइभल’ र सन् २०२८ लाई ‘इयर अफ ट्रान्फरर्मेसन’ वर्षका रुपमा योजना बनाएको र सोही अनुसार काम गर्ने बताए । उनले सो अवसरमा उनले विश्वका ५० वटा प्रमुख पर्यटकीय गन्तव्यमा प्रचारप्रसारलाई केन्द्रित गरिने समेत बताए ।
सीइओ जोशीले आफू नियुक्त हुँदा कसैलाई पनि एक कप पनि चिया नखुवाएको उल्लेख गर्दै इमान्दारिताका साथ काम गर्ने बताए । उनले दुई छिमेकी मुलुकहरु चीन र भारतका साथै पछिल्लो समय बंगलादेश पनि आउटबाउण्ड पर्यटक भएका देश भएकाले त्यसको फाइदा उठाउने गरी आफूले काम गर्ने बताए । उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना हँदा पनि सीमित बजेट, यातायातलगायतको समस्या, महंगो हवाई उडानलगायतका कारण अपेक्षाकृत लाभ प्राप्त हुन नसकेको बताए । उनले नेपाललाई सबै सिजनका लागि उपयुक्त पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने गरी प्रचार गरिने बताए ।
त्यस अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्स सुधारका लागि नीतिगत हस्तक्षेप जरुरी रहेको बताए । उनले नेपाल एयरलाइन्स सुधारबो बाटोमा जान जरुरी रहेको उल्लेख गर्दै आफूले अब नीतिगत तहबाट हस्तक्षेप गरी अगाडि बढ्ने प्रष्ट पारे । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले मुलुकमा वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने सुविधा भए पनि त्यसको ५० प्रतिशत मात्रै पर्यटक ल्याउने लक्ष्य सरकारले लिनु तर्कसंगत नभएको बताए । उनले पर्यटक उल्लेख्य संख्यामा नआउँदा यस क्षेत्रमा भएको ठूलो लगानी खेर जाने अवस्था रहेको बताए ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले पर्यटकीय गन्तव्य महंगो भएको बताए । उनले पर्यटकले सस्ता गन्तव्य नपाइरहेको गुनासो गरे । तर नेपालका हवाई जहाज कम्पनीले विदेशीलाई लिइरहेको डलर फेयरबारे भने उनले केही टिप्पणी गरेनन् । विदेशीलाई लगाइने डलर फेयरका कारण पनि पर्यटकका लागि नेपाल भ्रमण महंगो हुने गरेको छ । अध्यक्ष कार्कीले पर्वतीय पर्यटन केन्द्रित पर्यटक बढाउन एकदमै गाह्रो भएको उल्लेख गर्दै भारत बाहेकका मुलुकबाट आउने पर्यटक घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नवनियुक्त सीइओ जोशीलाई नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रुपमा गर्नका लागि सुझाव दिए । उनले यसका लागि पर्यटन ऐन संशोधन जरुरी रहेको पनि बताए । टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले नेपालको हवाई सेवा भरपर्दो नभएको उल्लेख गर्दै यसको असुरक्षा बढेको बताए । उनले पर्यटक बढाउनका लागि हवाई क्षेत्र सुरक्षित हुनुपर्नेमा जोड दिए ।
नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्र महङ्गो भएको विषयमा अध्ययन गरी समस्या समाधान गर्न पर्यटन मन्त्रीको ध्यानाकर्षण गराए । स्क्लका अध्यक्ष महेन्द्रराज पौडेलले हनुमुन पिरियडमा नो इफ नो बट नीतिका साथ काम गर्न सुझाव दिए । उनले बोर्डमा नहुँदा पनि सीइओ जोशी पर्यटन व्यवसायी र संस्थासँग नजिक हुने र पर्यटन प्रवद्र्धनमा सधै सक्रिय व्यक्तित्व भएकाले आफूहरु उहाँप्रति सकारात्मक रहेको बताए ।