आफूअनुकुल कार्यसमिति नहुने भएपछि ‘ना’को निर्वाचन सर्यो


सोनी शाही पोखरा । २६ भाद्र २०८१

मंगलबार पोखरामा नेपाल हवाई खलकूद संस्था (ना)को २१अऔँ वार्षिक साधारणसभा र १०औँ अधिवेशन सुरु भयो । औपचारिक कार्यक्रम आयोजना साधारणसभा र अधिवेशन सुरु भए पनि व्यवसायीहरुबीच सहमति हुन नसक्दा नयाँ कार्यसमिति चयनको कार्यक्रम भने हाललाई स्थगित भएको छ ।

नयाँ कार्यसमिति चयनमा सहमतिमा कुरा नमिलेपछि निर्वाचन शनिबारका लागि सारिएको व्यवसायीले बताएका छन् । सहभागी व्यवसायीहरुले नेतृत्वहरुले आफू अनुकुलको कार्यसमिति निर्वाचन हुने अवस्था नभएपछि निर्वाचन सारिएको आरोप लगाए ।

कतिपय व्यवसायीहरुले मंगलबार नै कार्यसमिति चयनको कार्यक्रम पूरा गर्नुपर्ने अडान राखे पनि त्यो पूरा हुन सकेन । व्यवसायीहरुबीच कुरो नमिलेपछि निर्वाचनको कार्यक्रम निर्धारित कार्यतालिकाभन्दा चार दिन पछाडि सारिएको एक व्यवसायीले बताए । ती व्यवसायीले यो निर्वाचन हुन नदिने र कार्यसमिति चयन गर्ने लोकतान्त्रिक प्रणालीको विरुद्धको अभ्यास भएको बताए ।

व्यवसायी खेमराज आचार्यले भने सकेसम्म सहमतिमै कार्यसमिति निर्वाचनमा जानुपर्छ भन्ने सोचले निर्वाचन सारिएको हुनसक्ने बताए । तर उनले मंगलबारबाट सुरु भएको अधिवेशन बीचमा स्थगित गरी शनिबारका लागि किन सारिएको आफूलाई थाहा नभएको बताए ।

अध्यक्षका प्रत्यासी सोनोबाबु सुनुवारले जबसम्म निर्वाचन आफ्नो पक्षमा आउने अवस्था रहँदैन तबसम्म निर्वाचन नगर्ने सोच भएको पाइएको भन्दै असन्तुष्टि जनाए । उनले निर्वाचन नै जाने हो भने शनिबारसम्म पर्खनुपर्ने अवस्था नरहेको बताए ।

नेतृत्व गर्नेहरुले आफ्नो मनोमानी ढंगले कार्यसमिति चयन नभएसम्म निर्वाचन नगराउन खोजेको देखिएको भन्दै सुनुवारले यो लोकतान्त्रिक अभ्यासविरुद्धको काम भएको टिप्पणी गरे ।

संस्थाको विधानमा सुरुमा सबैको सहमतिमा कार्यसमिति चयन गर्ने र त्यो सम्भव नभए निर्वाचनमा जानुपर्ने भनिएको छ । सोहीअनुसार मंगलबार सहमति हुन नसकेपछि निर्वाचनमा जानुपर्ने हो । तर संस्थाका हर्ताकर्ताहरुले शनिबारसम्म प्रक्रिया मिचेको व्यवसायीहरुको मत छ ।

नेपाल हवाई खेलकुद संस्थामा हाल ६२ वटा प्याराग्लाइडिङ व्यवसायिक कम्पनी र पाइलट गरी तीन सय ९९ जना आबद्ध छन् । नयाँ कार्यसमितिको अध्यक्षको प्रत्यासीमा सानोबाबु सुनुवार र अनिल केसी छन् ।

मंगलबारको कार्यक्रममा व्यवसायीहरुले पोखरामा सोलो प्याराग्लाइडिङ खुला हुनुपर्ने माग गरेका थिए । सोलो उडान हुन छाडेपछि पर्यटकहरुको आगमन पोखरामा कम भएकाले पोखराको पर्यटन चलायमान बनाउनका लागि यो आवश्यक भएको उनीहरुको तर्क थियो ।

२६ भाद्र २०८१