फिस्टेल ड्रिमपार्कले फागुन १२ देखि फेरि सञ्चालन गर्दै वाटर पार्क


टुरिजम पाना काठमाडौं । २७ माघ २०७९
तस्वीर: पार्कको फेसबुक

पोखरामा सञ्चालनमा रहेको फिस्टेल ड्रिमपार्कले वाटर पार्कलाई आगामी फागुन १२ देखि सेवा पुनः शुरू गर्ने तयारी गरेको छ ।

चिसो समयमा बन्द गरिएको सो पार्क गर्मी शुरू भएसँगै पुनः शुरू गर्न लागिएको हो । कम्पनीको ड्राइ पार्क भने सञ्चालनमै रहेको छ ।
५० करोड लगानीमा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय स्तरको फिस्टेल ड्रिमपार्क यतिखेर घुम्न जानेहरूको रोजाइमा पर्ने गरेको छ । ।

ड्रिमपार्कमा कुनै पनि व्यक्ति वा परिवारले पूरै दिन बिताएर रमाइलो गर्न सक्नेगरि पूर्वाधारहरू बनाइएको सञ्चालक हिरा केसीले जानकारी दिए ।

उनका अनुसार, इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिनेछ । पार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ ।

उनले भने,‘घुम्न आउनेहरू पार्कभित्र प्रवेश गरेपछि अन्तर्राष्ट्रियस्तरको भल्को आउँछ । उनीहरूलाई नेपालमा पनि यस्तो पार्क रहेछ भन्ने महशुस हुन्छ ।’

पार्कमा बालबच्चादेखि युवा तथा वृद्धवृद्धाले समेत घुमेर दिनभर नै रमाइलो गर्न सक्ने उनले बताए । यस्तै, वाटर पार्क प्याकेजको शुल्क १ हजार रुपैयाँ रहेको छ । जसमा विभिन्न १२ खेलहरू समेत खेल्न सकिनेछ । यस्तै ४ फिटभन्दा कम उचाइ रहेका बालबालिकाहरूका लागि वाटर पार्क प्याकेजमा ६ सय रुपैयाँ शुल्क लाग्नेछ ।

प्रवेशपछि सिमित खेल खेल्न चाहनेका लागि प्रति खेलको १५० देखि ३०० रुपैयाँसम्म लाग्ने सञ्चालक केसीले जानकारी दिए । साथै सबै किसिमका राइड गर्न एक हजार रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्नेछ । पार्कको कम्बो प्याकेजको शुल्क भने १ हजार ८ सय रुपैयाँ रहेको छ ।

पार्कमा भारत तथा चीनबाट ल्याइएको प्रविधिहरू जडान गरिएको छ । ‘ग्राहकको सुरक्षाका लागि हामीले विशेष ध्यान दिएरै क्वालिटी प्रोडक्टहरू जडान गरेका छौँ,’ सञ्चालक केसीले भने ।

६५ रोपनी जग्गामा फैलिएको पार्कमा विभिन्न खेलहरू गरेर ५ हजार मानिसहरू एकै पटक रमाउन सक्छन् । पार्कमा करिब सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ । पार्कमा जान निजी मात्र नभइ एयरपोर्टबाट ढुंगेसाहु, सितापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ । पार्कमा १३ जना युवाहरूको लगानी रहेको छ ।

२७ माघ २०७९