लुम्बिनीमा शुरु भयो खाना महोत्सव


टुरिजम पाना काठमाडौं । १७ पुष २०७९
food festival lumbini

नवौँ लुम्बिनी खाना महोत्सव लुम्बिनीमा शुरु भएको छ ।

लुम्बिनी होटल सङ्घ नेपालको आयोजनामा आर्थिक मन्दिका कारण होटल व्यवसाय प्रभावित भएको समयमा व्यवसाय चलायमान बनाउन सडक खाना महोत्सव शुरु भएको हो ।

स्थानीय खानपिनका परिकारका साथै लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरूको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, कम्बोडिया, म्यानमार, श्रीलङ्का आदि देशका परिकार पनि सामेल गराउने सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

महोत्सवमा स्थानीय थारू समुदाय मुस्लिम समुदाय पश्चिमी तराईका ब्राह्मण समुदाय आदिका खानपिनका साथै पाल्पाको झिनिया रोटी, बटुक हासको छोइला, चुकौनी, इम्रितीलगायतका खानेकुरा सडक खाना महोत्सवमा रहने उनले बताए ।

महोत्सवमा नौमती पञ्चेबाजा, विरहा, थारू झुमराका साथै आधुनिक पपरडिजे गीत सङ्गीतको व्यवस्थासमेत मिलाइएको छ । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य वासुदेव घिमिरेले लुम्बिनीको विकास र सौन्दर्यीकरणको अगुवाइ गर्ने प्रतिबद्धता जनाए ।

१७ पुष २०७९