नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले निःशुल्क महिला ट्रेकिङ गाइड तालिमका लागि दरखास्त आह्वान गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले नेपाल पर्यटन बोर्ड (NTB) र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) नेपालसँगको सहकार्यमा ‘दिगो पर्यटन परियोजना’अन्तर्गत यो तालिम सञ्चालन गर्न लागेको हो। तालिम माघ महिनामा सोलुखुम्बु जिल्लामा हुने जनाइएको छ।
१५ दिन अवधिको यो तालिममा २० जना महिलाले निःशुल्क सहभागिता जनाउन पाउनेछन्। फारम बुझाउने अन्तिम मिति २०८२ मंसिर २८ गते र अन्तर्वार्ता मंसिर २९ गते तोकिएको छ। तालिम २०८२ माघ २ गतेबाट सुरु हुनेछ।
तालिम अन्तर्गत सहभागी महिलाहरूलाई सैद्धान्तिक तथा प्रयोगात्मक ट्रेकिङ सम्बन्धी ज्ञान दिइनेछ। आवेदन दिनका लागि न्यूनतम कक्षा १० पास, शारीरिक रूपमा सक्षम र ट्रेकिङ क्षेत्रको सामान्य अनुभव भएकी महिला हुनुपर्नेछ।
दरखास्त फारम नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, थापाथली, काठमाडौंमा प्राप्त गर्न सकिनेछ। अधिक जानकारीका लागि प्रतिष्ठानको सम्पर्क नम्बर ०१-५३४४८४२, ५३४४८८८ वा वेबसाइटमा सम्पर्क गर्न सकिने जनाइएको छ।








