भक्तपुर दरबार क्षेत्रमा गाईजात्राको रौनक (तस्विरहरु)


टुरिजम पाना संवाददाता काठमाडौं । २६ श्रावण २०८२

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ। बिहानैदेखि भक्तपुर दरबार क्षेत्रमा गाईजात्राको रौनक छ ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवंगत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ। देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

पञ्चायती व्यवस्थाप्रति व्यंग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो। विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यंग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो।

२६ श्रावण २०८२