नयाँ रुटबाट पहिलाेपटक गाङछेँपो हिमालको चुचुराेमा पुगे आरोही


टुरिजम पाना सिन्धुपाल्चाेक । २९ कार्तिक २०७९
mt.gangchempo sindhupalchowk

नेपाली माउन्टेन गाइड रामकाजी ‘प्रयास’सहित गरिमा भोयजका अध्यक्ष रवीन्द्र अर्याल र न्यू भिजन नेपालका अध्यक्ष अशोक भट्टले शुक्रबार दिउँसो ११ बजे गाङछेँपोको चुचुरोमा पुगेका छन् ।

चर्चित नेपाली पर्वतारोही सानु शेर्पा र लालबहादुर वाइवाले सिन्धुपाल्चोकतर्फबाट पहिलोपटक गाङछेँपो (६,३७८ मिटर) हिमाल आरोहण गरेको केही दिनमै अरू तीनजनाले पनि सो हिमालको चुचुरो चुम्न सफल भएका हुन् ।

मोगानका महासचिवसमेत रहेका रामकाजीले क्याम्प-१ बाट ११ घण्टा लगाएर हिमालको चुचुरोमा पुग्न सफल भएको बताए । नेपालको पर्वतीय क्षेत्रमा थप सफलता हासिल गरेको र नयाँ आरोहण गन्तव्य थपिएको उनको भनाइ छ ।

टोलीद्वारा गाङछेँपो हिमालको रुट पत्ता लगाउँदै केही दिनअगाडि मात्रै आरोही सानु शेर्पा र लाल वाइवाले पहिलोपटक सिन्धुपाल्चोकका तर्फबाट चुचुरोमा पुगेका थिए ।

पहिलो क्याम्पबाट करिब १२ घण्टा लगाएर नयाँ रुट खुलाउँदै दुई पर्वातारोही टोलीद्वारा सफतापूर्वक आरोहण गर्न सफल भएको कार्यक्रम व्यवस्थापक सञ्जीव गुरुङले बताए । सजिलै नयाँ रुट खुलाउँदै चुचुरामा पुग्न सफल भएको उनको भनाइ छ ।

इटालीका प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोन सालभाग्निन र सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी’एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोहीको एक टोली आरोहणका लागि अक्टोबर २९ मा त्यसतर्फ प्रस्थान गरेका थिए ।

आरोहण दललाई सहयोग गर्न विश्वको १४ वटा आठ हजार मिटर हिमालको दोहोरो आरोही विश्वप्रसिद्ध नेपाली माउन्टेन गाइड सानु शेर्पा शेर्पाको साथ रहेको थियो ।

parbataarohi sanu sherpa

दिगाे पर्यटनद्वारा स्थानीय समुदायको भविष्यको विकास गर्ने लक्ष्य लिएर उक्त हिमालको रुट खुलाउने र आरोहण गर्ने योजना बनाएका गरिमा भोयज टुर्स एन्ड ट्राभलका संस्थापक रवीन्द्र आर्यालले बताए ।

गरिमा भोयज र न्यू भिजन नेपाल संस्थाले संयुक्तरुपले सुरु गरेको ग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्वसामू ध्यानाकर्षण गराउने उद्देश्यले आरोहण गरिएको आर्यालको भनाइ छ । गरिमा भोयजको पहल गरिएको आरोहण अभियानलाई इटालीको एक प्रतिष्ठित मोन्टुरा आउटडोर कम्पनीद्वारा सहयोग गरेको छ ।

त्यस्तै, अभियानलाई पाँचपोखरी थाङपाल गाउँपालिका, नेपाल पर्वातोरहण सङ्घ, मोगानलगायत विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको साथ थियो ।

ram kaji mountain guide prayash himal

आरोहण टोलीले काठमाडौंदेखि मेलेम्ची हुँदै भोटाङसम्म गाडी यात्रा गरेका थिए । त्यसपछि टुपी, डाँडा, नोस्याङपाटी, पाँचपोखरी, छ्याक्साल, ल्याङसिङ भ्याली हुँदै दक्षिण बेसक्याम्पसम्म पैदल यात्रा गरेका थिए ।

आरोहण टोली काठमाडौंबाट ६ दिनमा बेस क्याम्प पुगेका थिए । १० दिनमा बाटो पहिचान र रोप फिक्सिङ गर्दै गाइड सानु शेर्पा र लाल वाइवा चुचुरोमा पुगेका थिए ।

२९ कार्तिक २०७९