वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को


टुरिजम पाना म्याग्दी । २० चैत्र २०७९

वसन्त ऋतुको मौसम । छर्लङ्गै खुलेको आकाश । उत्तरतर्फका सेताम्ये हिमाल । जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस । लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक । म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलको यो दृश्यले यहाँ पुग्नेको मात्र होइन त्यो दृश्यको भिडियो तथा तस्वीर हेर्नेकोसमेत मन रोमाञ्चक बनाउँछ ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडि हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । समुन्द्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा वसन्त ऋतुसँगै पर्यटकको भीड लागेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रको गुराँसे जङ्गलमा १९ प्रजातिका गुराँस पाइन्छन् । घोरेपानीदेखि एक घन्टाको पैदल दूरीमा उकालो हिँडे पछि पुगिने पुनहिलमा अहिले पर्यटकको भीड लागेको स्थानीय सुरेन गुरुङले जानकारी दिए ।

धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानी प्रहरीचौकीले जनाएको छ । प्रहरी सहायक निरीक्षक सन्तोष भुसालका अनुसार पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा पर्ने झन्डै २० भन्दाबढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । अहिले दैनिक प्रतिदिन तीन सयदेखि पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी र पुनहिल आउने गरेका छन् ।

धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प ९एबिसी० बाट फर्कने तथा पोखराबाट घोरेपानी आएर घान्द्रुक र एबिसीतिर जाने गरेका उहाँले जानकारी दिए । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । वसन्त ऋतुको अनुकूल मौसममा आन्तरिक पर्यटक प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन् । मौसममा सुधार आएसँगै यस क्षेत्रको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको होटल व्यवसायीले बताएका छन् ।

विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायी उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले बताउनुभयो । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।

वसन्त ऋतुको सुरुआतसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताए । पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखै अगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने अन्नपूर्ण–५ शिखका बासिन्दा सुरेन गुरुङले जानकारी दिए । सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुराको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले बताए ।

घोरेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या छन् । प्राकृतिक सौन्दर्यमा रमाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भरिएका छन् । हिमाल तथा गुराँसकै कारण घोडेपानी र पुनहिल चिनिएका छन् ।

प्रकृतिको सदाबहार सौन्दर्य, हिमशृङ्खलाको आकर्षण, स्थानीय सहयोगी तथा सेवा भावनाले घोडेपानी र पुनहिलको समृद्धि चुलिँदै गएको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष क्या डमबहादुर पुनले बताए । “पर्यटकका लागि मगर, गुरुङ बस्ती, कला, संस्कृति जीवनशैली, हिमशृङ्खला, सूर्योदय, लालीगुराँस जङ्गल पदमार्गको मुख्य विशेषता हो”, उनले भने, “घान्द्रुक घोडेपानी क्षेत्रमा चिनियाँ, फ्रेन्च, कोरियन र मलेसियन पर्यटक बढीमात्रामा पुग्ने गरेका छन् ।”

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार शुल्क लिने गरिएको छ । घोडेपानीमा जति पनि पूर्वाधार निर्माण भएका छन्, त्यसमा सरकारको लगानी थोरै र स्थानीयको श्रम बढी रहेको स्थानीय विरेन पुनले बताए ।

कास्कीको पोखरा–नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी तथा म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिखदेखि घोरेपानी र नागी–महरेडाँडाबाट पुनहिल पुग्न सकिन्छ । अन्नपूर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिँड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल पर्यटकको बाक्लो आगमन बढ्दै गएपछि सुविधासम्पन्न होटल बनेका छन् । पर्यटक आगमन बढ्न थालेपछि प्रहरीले सुरक्षाका लागि गस्ती गर्न थालेको छ । अन्नपूर्ण पदयात्रा मार्ग विश्वका उत्कृष्ट १० गन्तव्यभित्र पर्छ ।

म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबिसी क्याम्प, घम्पुसलगायत पर्यटकीयस्थल पदयात्राको आकर्षण बनेको छ । वीरेठाँटीबाट भित्रिएका आधाजसो पर्यटक छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर अर्थात् एबीसी पुग्ने गर्छन् ।

पदयात्रामा जाने पर्यटकको आवास र खानाका लागि घोडेपानीमा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । पर्यटकको आवागमन बढ्दै गएपछि होटल व्यवसायीलेसमेत सेवासुविधालाई गुणस्तरीय बनाउँदै लगेका स्थानीय होटल व्यवसायीले बताएका छन् ।

घोडेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या क्षमता छ । कहिलेकाहीँ धेरै पर्यटक भएपछि होटलको आँगनमा टेन्ट राखेर पनि बास दिने गरेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए ।

घोडेपानी पुगेका धेरै पर्यटक हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोडके, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनी बजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणमा पर्यटक पुग्ने गर्छन् ।

२० चैत्र २०७९