चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन सुरु गरेको छ । चलु आर्थिक वर्षमा दुई सय ५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजना अनुसार अहिले काम सुरु भएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले ३७ लाख ५० हजार खर्चमा घाँसेमैदान व्यवस्थापन सुरु गरिएको जानकारी दिए । कसरा, लामिताल, सुखिभार, भिम्ले, डुमरिया, बुढी राप्ती लगायत क्षेत्रमा विस्तारै काम गरिने उनले बताए । उनका अनुसार वन्यजन्तुलाई चरन क्षेत्र व्यवस्थापनका लागि हरेक वर्ष घाँसेमैदान व्यवस्थापन हुँदै आएको छ ।
मजदुरहरुलाई घाँस काट्ने उपकरण दिएर मैदान व्यवस्थापन थालिएको मगरको भनाई छ । अहिले कसरा क्षेत्रमा घाँसेमैदान व्यवस्थापन भइरहेको छ । मगरका अनुसार हालसम्म ६० हेक्टर क्षेत्रफलमा काम सकिएको छ ।
निकुञ्ज, नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये आठ हजार नौ सय ५५ दशमलव दुई हेक्टर क्षेत्रफल घाँसेमैदानका लागि उपयुक्त मानिन्छ । गत वर्ष ४० लाख ७० हजार खर्च गरेर तीन सय ७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गरिएको थियो । कोभिड अघिसम्म घाँसेमैदान व्यवस्थापनमा धेरै बजेट विनियोजन हुने गरेको भए पनि अहिले निकै न्यून बजेटमा काम हुने गरेको थापामगरले बताए । रासस