लमजुङको दोर्दीमा नेपालकै पहिलो ‘हाइ अल्टिच्युड प्याराग्लाइडिङ स्कुल’ सुरु हुँदै


गोविन्द मरासिनी लमजुुङ । २६ फाल्गुन २०७९
pokhara paragliding
फाइल तस्वीर

लमजुङको दोर्दी गाउँपालिकामा हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनको तयारी थालिएको छ ।

नेपालमै पहिलोपटक दोर्दी गाउँपालिकाको वडा नं ८ थोँतीमा हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनको लागि गाउँपालिकाले सिफारिस दिएर प्याराग्लाइडिङ स्कुल सञ्चालनको तयारी थालिएको हो । स्थानीय सरकारको पहलमा तयारी थालिएको स्कुललाई बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले सञ्चालन गर्ने छ ।

उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने, कसरी उडाउने भन्ने सिकाईने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले टुरिजम पानालाई बताए । स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्मको सक्रियतामा निर्माण हुन लागेको स्कूललाई नागरिक उडड्यन प्राधिकरणले समेत अनुमति दिईसकेको छ ।

सुनुवारका अनुसार प्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधारको निर्माण स्थानीय सरकारले बनाउने छ । सम्बन्धित निकायबाट सहज र सजिलो तरिकाले सहयोग भएको खण्डमा दोर्दीमा छिटै प्याराग्लाइडिङ स्कुल सञ्चालन हुने सुनुवारले बताए ।

गाउँपालिकामा रहेको भेडीगोठ सहितका पालिकाका अन्य गन्तब्यको पर्यटकीय प्रवर्द्धन गर्नका लागि स्कुल महत्वपूर्ण रहने दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । प्याराग्लाइडिङ स्कुल सञ्चालनका लागि विभिन्न निकायहरुसँग छलफल भईरहेकोले र बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीलाई स्कूल चलाउन दिने गरी प्रक्रिया अगाडी बढिसकेको अधिकारीले टुरिजमपानालाई जानकारी दिए ।

नेपालमै पहिलोपटक हाइ अल्टिच्युड (३ हजार ९ सय मिटर) मा सञ्चालन गर्न लागिएको स्कूल सञ्चालनमा आएपश्चात प्याराग्लाइडिङबारे जानकारी सहित आकाशमा उड्न चाहनेहरुले तालिम लिन पाउने छन् ।

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले नेपालमै पहिलोपटक विगत ९ बर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ स्कुल सञ्चालन गर्दै १ सय वढी विदेशी सहित झण्डै ३ सय जनालाई तालिम दिईसकेको छ । स्कूलले बेसिक, इन्टरमिडियट र एडभान्स गरी तीन तहका कक्षा सञ्चालन गर्दै आएको छ ।

यस्तै कम्पनीले विभिन्न हावापानीमा उडान तालिम दिनका लागि देशका विभिन्न स्थानबाट तालिम सञ्चालन गर्दै आएको भएपनि पहिलो प्याराग्लाइडिङ स्कूल भने स्याङजाको भीरकोट हो । पर्यटकीय हिसाबले गाउँपालिका गन्तब्यहरुको प्रचारप्रसारमा समेत स्कूलले सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

२६ फाल्गुन २०७९