प्राविधिक जाँचपछि श्री एयरलाइन्सले पायाे उडान अनुमति


टुरिजम पाना काठमाडौं । २६ फाल्गुन २०७९
फाइल तस्वीर

श्री एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः उडान अनुमति दिएको छ ।

प्राधिकरणको विज्ञ टोलीले श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमताको समेत अध्ययनपछि प्राधिकरणले श्रीलाई पुनः सेवा सञ्चालनको अनुमति दिएको हो ।

प्राधिकरणबाट पुनः उडानको अनुमति पाएसँगै शनिबारदेखि श्री एयरलाइन्सले नियमित उडान गर्ने कम्पनीले जनाएकाे छ । श्री एयरलाइन्सका जहाज उडानका लागि पूर्ण सुरक्षित रहेको समेत कम्पनीले जनाएको छ ।

यसअघि उडान नं ८२१ बाट काठमाडौं–भैरहवा उडानमा रहेको श्रीको जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि सो एक इन्जिनको सहायतामा जहाज काठमाडौंमा आकस्मिक अवतरण गराएकाे थियाे ।

त्यसपछि छानविन पुरा नभएसम्म प्राधिकरणले श्रीको सबै जहाजहरु ग्राउण्डेड गरेको थियो । प्राधिकरणको यो जाँचबाट आफ्ना सबै जहाज सुरक्षित भएको पुष्टि हुने समेत कम्पनीले उल्लेख गरेको छ ।

२६ फाल्गुन २०७९