काठमाडौँ । नेपालले एसियाली क्यानोइङमा ऐतिहासिक सफलता हासिल गरेको छ। चाइना नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिप २०२५ मा नेपालका दुई खेलाडीले स्वर्ण र कास्य पदक जित्न सफल भएका छन्।चाइना कम्युनिकेशन कन्स्ट्रक्सन क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालका कृष्ण खड्काले स्वर्ण पदक हात पारेका छन्। त्यसैगरी अर्का नेपाली रञ्जन कँडेलले कास्य पदक जितेका छन्। यस प्रतियोगितामा चीनका ली पिनसोङले रजत पदक हात पारे। एसियन क्यानोइङमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो।
‘नेपालको लागि यसरी पहिलो पटक स्वर्ण पदक ल्याउन पाउँदा मलाई धेरै खुसी लागेको छ,’ खुसी हुँदै कृष्णले सुनाए। ‘नेपालबाट क्यानोइङ गर्न जाँदा जितेर नै आउने लक्ष्य त थियो तर त्यहाँ गएर अरु खेलाडीलाई देख्दा यसरी स्वर्ण नै जितिन्छ भन्ने आशा लागेको थिएन। तर, मिहेनत गरेको थिएँ, त्यसको फल पाइयो,’ उनले बताए।

स्वर्ण पदक विजेता तथा कायक खेलाडी कृष्ण खड्का २३औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज २०२५ का विजेता पनि हुन्।
त्यसैगरी कास्य पदक विजेता रञ्जन कँडेल पृथ्वी राजमार्गअन्तर्गत मलेखु नजिक रहेको त्रिशुली रिभरसाइड रिसोर्टमा कार्यरत र्याफटिङ गाइड हुन्।
‘देशको लागि एउटा न एउटा मेडल त ल्याउँछु भनेर गएको थिएँ। देशको लागि पदक लिएर आउन पाउँदा एकदमै खुसी लागेको छ,’ कास्य पदक विजेता रञ्जन कँडेलले बताए। ‘विदेशमा गएर नेपालको झण्डा बोकेर मेडल लगाउने लक्ष्य थियो, त्यो पूरा भयो। अन्य खेलमा पनि अझै मिहेनत गरेर खेल्ने हो र मेडल जित्ने हो,’ उत्साहका साथ उनले आफ्नो अनुभव सुनाए।

नेपाल र्याफटिङ एण्ड क्यानोइङ एसोसिएसनका उपाध्यक्ष सूर्यप्रसाद जोशीले क्यानोइङबाट नेपालको लागि स्वर्ण र कास्य पदक आउँदा एकदमै गर्व महसुस भएको बताएका छन्। ‘खेलाडीहरूले एकदमै मिहेनत गरेका थिए। आजको प्रतिफल त्यसकै हो। म एकदमै खुसी छु,’ उनले बताए। 
खेलाडीप्रति गौरवान्वित हुँदै उनले सरकारले क्यानोइङ, र्याफटिङ जस्ता साहसिक खेल खेल्ने खेलाडीका लागि केही गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन्। ‘हाम्रो संस्थाको पहलमा हामीले खेलाडीलाई चीनसम्म पुर्याएर खेल्ने अवसर जुरायौँ तर सरकारले यस्ता खेलाडीका लागि भने केही पहल गरेको देखिँदैन। यसप्रति दुःख लाग्छ। जस्तोसुकै खेलमा पनि अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्ने खेलाडीप्रति सरकारले विशेष ध्यान दिन जरुरी छ। अरू त हाम्रो खेलाडीहरूले मिहेनत गरेका छन्। राम्रो काम गरिरहेका छन्,’ उनले सुनाए।
डिसेम्बर २३ मा सम्पन्न यो प्रतियोगिता तीन दिनसम्म चलेको थियो। उक्त प्रतियोगितामा विभिन्न १५ वटा देशका १४८ जना खेलाडी सहभागी थिए। जसमा नेपालको तर्फबाट दुई खेलाडीले मात्र भाग लिएका थिए। 








