यस वर्षको फागु अर्थात होली पर्व सोमबारबाट सुरु भएको छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएपछि यसपालीको होली पर्व आधिकारिक रूपमा सुरु भएको हो ।
चिर गाडेपछि बसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्लअष्टमीदेखि पूर्णिमासम्म विभिन्न रंग र अविर एकआपसमा छ्याछ्याप गरेर होली खेल्ने परम्परा छ। होलीकै भोलिपल्टबाट ऋतुहरुका राजा बसन्त ऋतुको आगमन हुने विश्वास छ ।
आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।
हरेक वर्षको फागुन शुक्ल अष्टमीका दिन लिंगो ठड्याउने चलन छ । यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।