पर्वतका होम–स्टेमा वढ्यो पर्यटकको चहलपहल


रासस पर्वत । १९ फाल्गुन २०७९

पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होम–स्टे (घरबास) मा पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाका गाउँगाउँमा होम–स्टे सञ्चालनमा छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को समयमा ठप्प बनेका अधिकांश होम–स्टेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको सञ्चालकले बताएका छन् । गण्डकी प्रदेशकै अग्रणी होम–स्टे सेवा दिँदै आएको मोदी गाउँपालिका–८ चित्रेस्थित सामुदायिक होम–स्टेमा आउने पाहुनाको सङ्ख्या दैनिकजसो बढ्दै गएको छ । ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा विभिन्न जिल्लाबाट पाहुना आउने क्रम बढेको होम–स्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताए ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होम–स्टेमा आउनेहरु आकर्षित हुने गरेका छन् । अहिले आन्तरिक पर्यटक आउने क्रम कोभिड–१९ भन्दा अघिकै जस्तै हुन थालेको उनले बताए । पोखरा र काठमाडौंबाट समेत विभिन्न समूहमा आन्तरिक पर्यटक आउन थालेको गुरुङ बताउछन् ।

यहाँ वार्षिक तीन हजारभन्दा बढी पर्यटक होम–स्टेमा पुग्ने गरेको तथ्याङ्क छ । “कोभिड–१९ का बीचमा पनि हामीले होम–स्टे खुला गरेका थियौँ, अब आन्तरिक मात्र नभएर बाह्य पर्यटक आउने क्रम सुरु भएको छ”, उनले भने, “विस्तारै पुरानै लयमा फर्किएको अनुभूति भएको छ ।”

चित्रेको होम–स्टेलाई व्यावसायिकरुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होम–स्टे चलाएरनै दैनिक गुजारा चलाउनेको दैनिकी रहने गरेको भए पनि चित्रेमा होम–स्टे चलाइरहेका सात घरका लागि त्यो बाध्यता छैन । जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या पर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होम–स्टेको कोषमा राख्ने गरिएको सञ्चालक समितिले जनाएको छ । समितिका अनुसार चित्रेको होम–स्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ ।

चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ रहेका कारण पदयात्रामा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । होम–स्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ । चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होम–स्टे विकास समितिका सल्लाहकार मधुसोदन अधिकारीले बताए ।

मौलिक कलाको प्रचार र प्रवद्र्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टेमा पुगेका पत्रकार अगन्धर तिवारीले बताउछन् ।

उता जिल्लाको कुश्मा नगरपालिका–३ मा दुर्लुङ, वडा नं १४ आर्थर, फलेवास नगरपालिका–२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुंखु, विहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे र पैँयु गाउँपालिकाको चिन्नेखर्कलगायतका स्थानमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।

१९ फाल्गुन २०७९