होटल व्यवसायीको जम्बो टोली बंगलादेश प्रस्थान, नेपालमा धेरै पर्यटक भित्र्याउने लक्ष्य


टुरिजम पाना काठमाडाैँ । २१ असार २०८१

बंगलादेशी पर्यटक नेपालमा भित्र्याउन होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २१ सदस्यीय होटल व्यवसायीको टोली बिहिबार बंगलादेश प्रस्थान गरेको छ ।

बंगलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचारप्रसार गर्न नेपाली टोली बंगलादेश गएको हो ।

उक्त कार्यक्रम होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा जुलाई ४ देखि ७ सम्म आयोजना गर्न लागेको हो ।

जुलाई ५ मा बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टूर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा भव्य पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रम राखिएको संघले जनाएको छ ।

बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ ।

कार्यक्रममा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि संघले विज्ञप्तिमा जनाएको छ ।

टोलीले बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्वद्ध निकायहरुसँग भेटघाट गरी द्विपक्षीय पर्यटन अभिवृद्धि गर्न र बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

उक्त कार्यक्रमको निमन्त्रणा तथा समन्वय ढाकास्थित नेपाली राजदूतावासबाट भएको हो भने नेपालको समग्र पर्यटन सम्बन्धी प्रस्तुतिकरण नेपाल पर्यटन बोर्डबाट हुने होटल संघ नेपालका महासचिव तथा प्रवक्ता साजन शाक्यले जानकारी दिए ।

२१ असार २०८१