कालीगण्डकीमा शुरु भयो व्यवसायिक र्‍याफ्टिङ, १२ सयमा प्याकेज


टुरिजम पाना काठमाडौं । १९ पुष २०७९

म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यवसायिक जलयात्रा सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलोपटक व्यावसायिक जलयात्रा शुरु गरेको हो ।

होटलका सञ्चालक गम पुनले बेनीमा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले र्‍याफ्टिङ र कायाकिङ शुरु गरेको बताए । “म्याग्दीका पर्यटकीयस्थल र मुस्ताङ भ्रमणमा आउने जाने पर्यटकको बेनीमा बसाइ लम्ब्याउन जलयात्राले सहयोग गर्नेछ”, उनले भने “छोटो र लामो दूरीको जलयात्राको प्याकेज बनाएका छौँ ।”

पर्वतको नयाँपुलदेखि मिर्मीसम्म जलयात्रा सञ्चालन गर्दै आएको स्पलाइस नेपाल एडभाञ्चर टेकिङले म्याग्दीमा सेवा दिन थालेको हो । गलेश्वरदेखि बेनीको दोभान, पर्वतको नयाँपुल र मिर्मीसम्मको प्याकेज बनाइएको छ ।

गलेश्वर–बेनी तीन किलोमिटर दूरीको एक घण्टाको छोटो प्याकेजको जलयात्राका लागि प्रतिव्यक्ति रु एक हजार दुई सय शुल्क तोकिएको र्‍याफ्टिङ गाइड होम पुनले बताए । सो शुल्क खाजासहितको हो । एक पटकमा आठ जनाले र्‍याफ्टिङ गर्न सक्नेछन् ।

कालीगण्डकीको छालसँगै बगेर नदी किनारको दृश्यावलोकन गर्न पाउनु जलयात्राको आकर्षण हो । नदीमा बग्दै वरपरका बस्ती, झरना, पहाड र खोँचको दृश्यावलोकन गर्न सकिन्छ । यसअघि म्याग्दीमा नियमित जलयात्रा सञ्चालन भएको थिएन ।

मेला महोत्सवको समयमा पोखराका व्यवसायी आएर जलयात्रा गराउँदै आएका थिए । विगत १२ वर्षदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका पुनले म्याग्दी, पर्वत र बागलुङको सिमाना भएर बग्ने गलेश्वर–बेनी–नयाँपुल खण्डमा प्राविधिक अध्ययन गरेर जलयात्रा सुरु गरेको बताए ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले जलयात्राले बेनीमा पर्यटकको बसाइ लम्ब्याउन र यहाँको व्यापार व्यवसाय बढाउन सहयोग पुग्ने बताए ।

“खस्किएको बेनीको व्यापार र पर्यटनलाई उकास्न जलयात्राले सहयोग गर्ने अपेक्षा गरेका छौँ”, उनले भने, “बेनीमा पर्यटकको बसाइ लम्ब्याउन ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य पहिचान गरी प्रचारप्रसारमा जुटेका छौँ ।” (रासस)

१९ पुष २०७९