किन विवादित बन्यो लिटरेचर फेस्टिभल, पोख्रेली स्रष्टाकै आक्रोश


टुरिजम पाना काठमाडौं । १९ पुष २०७९

‘नेपाली कविताको श्रीवृद्धिका लागि आयोजना गरिएको भनिन्छ तर कार्यक्रमको नामसम्म नेपालीमा राखिन्न । यस्ता तरिकाले माया मानेझैं गर्ने र खासमा नेपाली भाषा मास्ने षड्यन्त्र वा रणनीतिको जमेर विरोध गर्नु छ । आउनुस् सँगै लागौं ।’

नेपाली लेखक संघ, गण्डकी प्रदेशका महासचिव सञ्जिव पौडेलले सामाजिक सञ्जाल फेसबूकमा केही दिनअघि लेखेको स्टाटस हो यो ।

पोखरामा हालै सम्पन्न ‘नेपाल लिटरेचर फेस्टिभल’ बारे उनले यो टिप्पणी गरेका हुन् । नेपाली भाषालाई मास्ने षड्यन्त्र भएको भन्दै यसलाई जमेर विरोध गर्नुपर्ने उनको भनाइ छ । उनले सो महोत्सव मात्रै नभएर त्यस भित्रका विभिन्न साहित्यिक कार्यक्रमहरूको नाम नेपालीकरण नगरिएकोप्रति आपत्ति समेत जनाए ।

उनीमात्रै हैन, धेरै साहित्यकारहरूले लिटरेचर फेस्टिभलको नाम नेपालीमा नराखिएको भन्दै टिप्पणी गरे । समीक्षक एवम् समालोचक भूमिराज बस्ताकोटी नेपालमा आयोजनमा गर्ने कार्यक्रमको नाम नेपाली हुनु नै उचित हुने बताउँछन् ।

टुरिजम पानासँग बस्ताकोटीले भने,‘यस्ता महोत्सव तथा कार्यक्रमहरूको नाम नेपाली नै हुनु उत्तम हुन्छ । झन् साहित्यिक कार्यक्रमको नाम त नेपाली नै हुनुपर्ने हो नी ।’

नेपाली भाषाको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

के भन्छ आयोजक ?

सफलतापूर्वक सम्पन्न भएको मेलाको नामलाई लिएर विवाद भएसँगै आयोजकले भने यसबारे चिन्ता व्यक्त गरेको छ । नेपाली साहित्यलाई विश्वमाझ पुर्‍याउने हेतुले महोत्सवको आयोजना गरिएको भन्दै आयोजकले नेपाली नाम नै चाहिन्छ भन्ने नभएको समेत बताएको छ ।

‘बहस हुनु जरुरी छ, बहसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ,’ फेस्टिभलकी सत्र–संयोजक सुजाता खत्रीले टुरिजम पानासँग भनिन् ।

उनले अहिले कार्यक्रम नयाँ नभएको भन्दै १० औं संस्करण सम्पन्न भएको सुनाइन् । ‘नेपाली साहित्यलाई विश्वमाझ पुर्‍याउने, नेपाली साहित्यको विकास गर्ने हेतुले यो महोत्सव आयोजना गरिएको हो,’ उनले भनिन्,‘नामलाई नै लिएर विवाद गर्नुपर्छ जस्तो लाग्दैन ।’

आयोजक सदस्य एवम् सञ्चारकर्मी केशव शरणले फेस्टिभललाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउनका लागि नै अन्तराष्ट्रिय भाषाबाट नाम राखिएको बताए । उनले टुरिजम पानासँग भने,‘हामीलाई भाषाको माया नभएको होइन, महोत्सवलाई अन्तराष्ट्रिय ब्राण्ड बनाउनका लागि भाषा चयन गरिएको हो ।’

उनले नामबारे बहस हुनु स्वभाविक भएको भन्दै सबैको विचारलाई आयोजकले सम्मान गरेको समेत बताए ।
उनी भन्छन्,‘भाषा बचाउनुपर्छ भन्ने उहाँहरूको चिन्ता जायज छ । हामी पनि भाषा बचाउनुपर्छ नै भन्छौँ । तर नाम चाहीँ अन्तर्राष्ट्रिय पाहुनाहरूलाई समेत मध्येनजर गर्दै राखिएको हो ।’

साहित्य पर्यटन प्रवर्द्धन

गत पुस ६ गतेदेखि ११ गतेसम्म पोखरामा साहित्यको महाकुम्भ फेस्टिभल सम्पन्न भयो । ५ दिन सञ्चालित सो कार्यक्रममा देश तथा विदेशबाट विभिन्न साहित्यकार तथा लेखकहरूको बाक्लो उपस्थिति रह्यो । १० औं संस्करणको यो महोत्सवले धेरैको ध्यान खिच्यो ।

नेपालकै सबैभन्दा ठूलो साहित्य महोत्सवको रुपमा चिनिएको ‘लिटरेचर फेस्टिभल नेपाल’ मा विभिन्न सेसनमा विभिन्न व्यक्तित्व तथा विज्ञहरूले आफ्ना विचारहरू राखे । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका राजनीतिकर्मीहरूले पनि महोत्सवमा पुगेर बहस गरे ।

सो फेस्टिभलको हरेक दिन हलहरूमा खचाखच भिड भएको आयोजक बताउँछन् ।

फेस्टिभलकी सत्र–संयोजक सुजाता खत्रीले भनिन्,‘प्रायः हलमा ५ सय/छ सय सिट थिए । ती सब भरिभराउ भएर बाहिर बसेर समेत हेर्नेहरू हुनुहुन्थ्यो ।’

खत्रीका अनुसार, फेस्टिभलमा १८ हजारदेखि २० हजार जना सहभागी भएको अनुमान गरिएको छ ।

केशव शरणले नेपालका विभिन्न ठाउँबाट साहित्य प्रेमीहरू सहभागी भएको बताए । उनले भने,‘आन्तरिक पर्यटनलाई बढाउन समेत यस महोत्सवले सहयोग गरेको छ ।’

१९ पुष २०७९