व्यवस्थापन समितिले मान्यता पाएसँगै फेरियो कालिञ्चोक मन्दिर आसपासको सुन्दरता


टुरिजम पाना संवाददाता काठमाडौँ । ७ मंसिर २०८१

दोलखाको पर्यटकीय क्षेत्र मा रहेको कालिन्चोक भगवति मन्दिरको व्यवस्थापन समितिले मान्यता पाएसँगै मन्दिर व्यवस्थापनको काममा तीव्रता दिइएको छ ।

विगतमा दर्ता भएपनि मान्यता नपाएको यस समितिलाई यो वर्षदेखि जिल्ला प्रशासन कार्यालय दोलखाले मान्यता दिएको हो । मान्यता पाएसँगै व्यवस्थापन समितिले मन्दिर वरपर रहेको अव्यवस्थित घर टहरा हटाएर व्यवस्थित गराएको छ । यस्तै मन्दिर वरपर सरसफाई गर्ने, पूजा सामग्रीहरूको व्यवस्थापन गर्ने लगायतको काम मन्दिर व्यवस्थापन समितिले गर्दै आएको समितिका अध्यक्ष चन्द्रकुमार लामाले बताए ।

मन्दिर वरपर सरसफाई कायम राख्नका लागि पूजा सामग्रीलाई केवलकारको पार्किङमै व्यवस्थापन गर्ने काम गरिएको लामा बताउँछन्। घर टहरा हटाएपछि पाँच हजार बोट धुपी र ५ हजार बोट सुनपाती वृक्षरोपण गरेर मन्दिर संरक्षण गर्ने योजना अनुसार काम भइरहेको उनको भनाइ छ ।

चट्याङको उच्च जोखिममा रहेको यस मन्दिरमा विगतमा चट्याङ परेर भौतिक तथा मानवीय क्षति समेत भएको थियो। जसकारण अहिले भने त्यसलाई रोक्नका लागि व्यवस्थापन समितिले आर्थिकको व्यवस्था गरेको जनाएको छ। जसले गर्दा चट्याङ पर्ने सम्भावना न्यून हुने र धनजनको क्षति नहुने समितिको विश्वास छ ।

साथै मन्दिरको आकर्षण कायम राख्न तथा झिलिमिली बनाउनका लागि १० वटा सोलार लाइट व्यवस्थापन गरिएको अध्यक्ष लामाले बताए उनका अनुसार अहिले मन्दिरको निगरानीका लागि सिसि टिभी क्यामेरा मार्फत निगरानी गर्ने कार्य समेत भइरहेको छ ।

व्यवस्थापन समितिले मन्दिर पछाडि भएको फोहोरको ठूलो थुप्रोलाई व्यवस्थित रुपमा डम्प गर्ने योजना बनाएको छ। खाडल खनेर खाडलमा त्यो फोहोर राख्नको लागि जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी तथा नेपाली सेना समेतको उपस्थितिमा स्थानीय जनशक्ति परिचालन गरी सो काम गर्ने योजना बनाइएको अध्यक्ष लामाले बताए जसका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिइएको उनको भनाइ छ ।

विगतमा कालिञ्चोक मन्दिर दर्शनका लागि आएका दर्शनार्थीहरूले कुरीमा आएर बास बस्ने त्यसपछि सुन्धारामा गएर नुहाउने शुद्ध हुने मन्दीर पुजा गर्न जाने प्रचलन थियो । अहिले केवलकार आएपछि सिधै मन्दीर जाने अवस्था सिर्जना भएको छ त्यसलाई मध्यनजर गर्दै समितिले सुन्धारा हुँदै जाने मार्ग विस्तार गर्ने काम समेत गर्ने योजना रहेको जनाएको छ ।

यस्तै मन्दिर परिसरमा फोहोरमैला हटाउने उद्देश्यका साथ मन्दिरमा सिन्के धुपलाई पूर्णरूपले निशेधित गरिएको छ। सिन्के धुपको सट्टामा यहाँकै सुनपाती, सल्लो, धुपी लगायतको बाट बनाइएको स्थानीय महिलाहरूले बनाएको धुप किन्ने व्यवस्था गराइएको छ। जसले सो क्षेत्रका नागरिकको आम्दानीको नयाँ स्रोत समेत सिर्जना भएको समितिको भनाइ छ ।

भेटीको ठेक्का जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयले संयुक्त रूपमा खुलाइ रहेका छन् । तर त्यसबाट मन्दीरको बहुमुल्य सामान हराउने लापरबाही हुने लगायतको अवस्था भएको अध्यक्ष लामा बताउँछन् । अब चाहीँ अभिलेख राख्ने निगरानी गर्ने उनको भनाइ छ।

मन्दिर जाने धर्मलाम्बीहरूलाई घामपानीका समयमा सुरक्षित बनाउनका निम्ति मन्दीरको तल्लो गेटदेखि माथिको गेटसम्म जस्ताले छाएको ट्रेल हाल्ने तयारी रहेको अध्यक्ष लामाले बताए । जसका लागि विभिन्न निकायसँग बजेट माग भइरहेको उनको भनाइ छ ।

लामाका अनुसार दोलखा जिल्लाको करिब १० प्रतिशत नागरिक मन्दिरबाट लाभान्वित छन् ।

परम्पररा देखि नै सो मन्दिरमा झाँक्रिहरूले पूजापाठ गर्ने, उभौली उधौलीमा पूजा गर्ने लगायत प्रचलन थियो। तर अहिले जिल्ला प्रशासनले पुजारी नियुक्त गर्दै आएको छ । व्यवस्थापन समितिले पुजारीको नियुक्ति लगायतका काम समितिको हातमा आउनुपर्ने बताउँदै आएको छ।

यस्तै जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयले दक्षिणा संकलन गर्न ठेक्का लगाउने गर्दै आएकोमा अब भने समितिले नै यसको व्यवस्थापन गर्न पाउनुपर्ने माग समिति अध्यक्ष लामाको छ ।

७ मंसिर २०८१