अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो । ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको थियो ।
परीक्षण उडान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र राज्यमन्त्री अरुण चौधरी सहभागी थिए ।
निर्माण सुरु भएको ३२ वर्षपछि विमानस्थलमा परीक्षण उडान भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार विमानस्थलको निर्माण २०४९ सालमा सुरु भएको थियो ।
कमलबजार विमानस्थलको निर्माण कार्य २०४९ सालमा सुरु गरिएको थियो । २०४८ सालमा ४ करोड ६३ लाख रुपैयाँको लागतमा निर्माण गर्ने इस्टिमेट गरिएको यो परियोजनामा प्रारम्भिक चरणमै २ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो ।
२०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेका बेला तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणले विमानस्थल बन्द हुन पुग्यो ।
विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दाले यसलाई गाईबस्तु चराउने गौचरन, पार्टी कार्यक्रम तथा खेलकुद गतिविधिका लागि प्रयोग गर्दै आएका थिए ।