निर्वाध व्यवसाय सञ्चालन गर्न दिन कवाड व्यवसायीको माग


कवाड व्यवसायी समाजले काठमाडौं महानगरपालिकाभित्र दर्ता व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति आपत्ति जनाएको छ ।

समाजले विज्ञप्ती जारी गर्दै महानगरपालिकाभित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिदिएको र व्यवसाय हटाउन भन्दै पत्रचार गरेको बताएको हो ।

अध्यक्ष रामकेवल गुप्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महानगरका विभिन्न वडा कार्यालयहरुवाट कवाडी हटाउने सम्बन्धमा पत्रहरु प्राप्त भएको हुदा यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र यस महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिरहेको विषयमा हाम्रो घोर आपत्ती रहेको छ ।’

आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिनुपर्ने अध्यक्ष गुप्ताको अनुरोध छ ।

समाजले देशमा सञ्चालित उद्योगहरुलाई चाहिने पुनः प्रयोग गर्न मिल्ने सामग्रीको ७० प्रतिशत समानको कवाडी व्यवसायीले सप्लाइ गरिरहेको दाबीपनि गरेको छ ।

१ फाल्गुन २०८०