तोडियो निर्मल पुर्जाको रेकर्ड, क्रिष्टिनाले तीन महिनामै कायम गरिन् कीर्तिमानी


टुरिजम पाना संवाददाता काठमाडौं । ११ श्रावण २०८०
Kristin Harila

नर्वेकी हिमाल आरोही क्रिष्टिना हेरिलाले तिन महिनामै ८ हजार मिटर माथिका १४ हिमाल आरोहण गरेर कीर्तिमानी कायम गरेकी छन् । यससँगै नेपालका निर्मल पुर्जाको कीर्तिमानी तोडिएको छ ।

उनले बिहीबार विश्वकै दोस्रो अग्लो हिमाल फाकिस्तानको माउन्ट केटुको सफल आरोहण पश्चात कीर्तिमानी राख्न सफल भएकी हुन् ।
उनीसँगै तेन्जिङ शेर्पाले पनि पाकिस्तानको माउन्ट केटुको सफल आरोहण गरेका छन् ।

सेभेन समिट ट्रेक्सका एक्पेन्डिसन डाइरेक्टर चाङ दावा शेर्पाले क्रिष्टिना र तेन्जिङले बिहीबार बिहान नेपाली समय अनुसार ११ः३० मा विश्वकै सबैभन्दा दोस्रो अग्लो हिमालको सफल आरोहण गरेको जानकारी दिए ।

उनले उनीहरूले तीन महिनामा १४ वटा आठ हजारभन्दा अग्ला हिमालको सफल आरोहण गरेको जानकारी दिए ।

यसअघि नेपालका निर्मल पुर्जाले ७ महिनाभन्दा कम समयमा आठ हजार मिटरभन्दा माथिका १४ हिमालको आरोहण गरेर कीर्तिमान राखेका थिए ।

यससँगै क्रिष्टिनाले पुर्जाको कीर्तिमानी तोड्न सफल भएकी छन् ।

उनले गत वर्षदेखि नै पुर्जाको कीर्तिमानी तोड्ने प्रयास गरेकी थिइन् । तर चीन सरकारले हिमालमा कुनै पनि गतिविधि गर्न नदिएपछि बीचमै रोकिनुपरेको थियो ।

क्रिष्टिनाले यसअघि सगरमाथाको चुचुरोबाट लोत्से हिमाल सबैभन्दा छोटो समयमका आरोहण गर्ने महिलाको कीर्तिमानी समेत राखेकी छन् । उनी धावक तथा क्रस-कन्ट्री स्की खेलाडी पनि हुन् ।

११ श्रावण २०८०