विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा ठमेलमा दीप प्रज्वलन


टुरिजम पाना काठमाडौं । २ माघ २०७९

पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको आयोजनामा राजधानीको प्रमुख पर्यतकीय गन्तव्य ठमेलमा दीप प्रज्वलन गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्, नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), होटल एसोसिएस न नेपाल (हान), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) लगायतका सङ्घसंस्थाले दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका हुन् ।

शोकसभामा परिषद्का उपाध्यक्ष सहदेव धमलाले सुरक्षित र भरपर्दो उड्डयन क्षेत्र पर्यटनको आधार भएकाले नेपालको उड्डयन क्षेत्रको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष ठाकुर पाण्डेले पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा क्षति पुगेको बताउनुभयो । सोही अवसरमा एक मिनेट मौनधारण गरिएको थियो । आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको (एन–एएनसी एटिआर–७२–५०) कल साइन भएको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

२ माघ २०७९