डुङ्गा चालकको लापरबाही: अनिवार्य ‘लाइफ ज्याकेट’ लैजान्छन् तर लगाउँदैनन् !


टुरिजम पाना काठमाडौं । २० मंसिर २०७९
Begnas lake
तस्वीर सौजन्य: नम्रता शर्मा

पोखराको मुख्य आकर्षण नै ताल पर्यटन हो । पर्यटकीय नगरी पोखरामा पुग्ने जो कोहीले मुख्यगरी त्यहाँका चर्चित तालहरू घुम्ने योजना बनाउने गरेका छन् । पोखरा पुग्ने पर्यटकले फेवा हुन् या बेगनाश, कुनै न कुनै तालको अवलोकन गर्छन् नै । तर, त्यस्ता तालहरूमा डुंगा चलाउने चालकहरूको गम्भीर लापरबाहीका कारण पर्यटकसमेत समस्यामा पर्ने गरेका छन् ।

डुङ्गा चालककै लापरबाहीका कारण पर्यटकले पाउने सास्तीबारे व्यवसायी संघ भने बेखबर बन्ने गरेको छ । पोखराका फेवा तथा बेगनास तालमा डुङ्गा चालकहरूले लाइफ ज्याकेट बिना नै डुङ्गा चलाउने गरेका छन् । विगतदेखि नै चालक तथा यात्रु दुवैका लागि अनिवार्य गरिएको लाइफ ज्याकेट लगाउनुपर्ने व्यवस्था गरिएको छ । तर विभिन्न बाहना देखाउँदै चालकहरूले लाइफ ज्याकेट लगाउने गरेका छैनन् ।

कतिपय चालकले भने लाइफ ज्याकेट बोकेर गए पनि नलगाउने तथा कतिपयले पहिले लगाएर जानेर बीचतिर पुगेपछि फेरि नलगाउने गरेको पाइएको डुङ्गा व्यवसायी संघका कर्मचारीहरू बताउँछन् । चालकहरूले आफूलाई पौडी खेल्ने अनुभव रहेको तथा ज्याकेट लगाउन अप्ठ्यारो हुने बताउँदै लाइफ ज्याकेट लगाउन इन्कार गर्ने गरेको संघका कर्मचारीहरू बताउँछन् ।

पटक–पटक दुर्घटना व्यहोरिसकेको बेगनास तालमा डुङ्गा चलाउने चालकहरूले लाइफ ज्याकेट लगाउन इन्कार गर्दै आउनु गम्भीर लापरबाही भएपनि संघले भनेको नमाने संघका कर्मचारी बताउँछन् । लाइफ ज्याकेट लगाउने अनिवार्य व्यवस्था गरिएपनि डुङ्गा चालकहरूले त्यसको पालना नगर्दा पर्यटकहरूले ठूलो जोखिम मोल्न बाध्य भएको गुनासो यात्रुहरूले समेत गर्ने गरेका छन् ।

बेगनाश तालका डुङ्गा व्यवसायी समितिका अध्यक्ष रवि कँडेलले माछा व्यवसाय गर्दै आएकाहरूले मात्रै डुङ्गा चलाउदा लाइफ ज्याकेट नलगाएको बताए । उनले भने,‘यात्रु सवार डुङ्गा चालकले अनिवार्य लाइफ ज्याकेट लगाएका हुन्छन्, तर माछा व्यापारीहरूले भने नलगाएका हुन् ।’

उनले विगतमा बेगनासमा दुर्घटना भएको स्मरण गर्दै त्यसयता लाइफ ज्याकेट चालक र यात्रु दुवैले अनिवार्य लगाउनुपर्ने व्यवस्था बनाएको बताए । ‘त्यसयता प्रायः चालकले डुङ्गा चलाउँदा लाइफ ज्याकेट लगाउने गरेका छन्,’ उनको दाबी छ ।

उनले यस्तो दाबी गरेपनि यथार्थ भने अर्कै छ । पोखराका सञ्चारकर्मी सन्दीप पौडेलले भने बेगनासमा डुङ्गा चालकले लाइफ ज्याकेट नै नलगाई डुङ्गा चलाउने गरेको पाइएको बताए । उनले सामाजिक सञ्जालमा एक भिडियो क्लिप शेयर गरेका छन् ।

भिडियोमा डुङ्गा व्यवसायी समितिका सचिव शोभाकर कँडेलले चालकले लाइफ ज्याकेट लगाउन अनिवार्य भनिएको भएपनि चालकले नलगाउने गरेको बताएका छन् । उनी भन्छन्,’ज्याकेट लगाउन गाह्रो हुने रहेछ भन्छन्, यहाँबाट लगाएर गएपनि बीचतिर पुगेपछि नलगाउने गरेकाे पाइन्छ ।’

यद्यपी उनले अहिले कोही चालकले डुङ्गा चलाउँदा ज्याकेट नलगाएको पाइएको सूचना आएको भन्दै आफूले उनीहरूमाथि निगरानी गर्ने बताए । उनले अहिले आफू बाहिर रहेको भन्दै भने,‘म बेगनास पुगेपछि चालकहरूलाई अनिवार्य लाइफ ज्याकेट लगाउन फेरि भन्छु ।’ बेगनाशमा मात्रै हैन फेवा तालमा पनि डुंगा चालकहरूले लाइफ ज्याकेट नलगाएरै चलाउने गरेका छन् । यात्रु र चालक दुवैलाई अनिवार्य गरिएको लाइफ ज्याकेट उनीहरूले भने आफू अनुभवी भएको जस्ता तर्क गर्दै नलगाएका हुन् ।

संघका अध्यक्ष भन्छन् : पहिले लगाउने चलन रहेनछ, अब कडाई गर्छौं
डुङ्गा व्यवसायी संघका अध्यक्ष बलराम गिरीले अहिले चालकहरूले लाइफ ज्याकेट लगाउन नमानिरहेको बताए । उनले भने,‘उहाँहरूले लगाउन नमान्नुभएको कुरा सत्य हो । तर म उहाँहरूको यो कुरा मान्न तयार छैन, मेरो कार्यकालको पहिलो बैठकमा कुरा राखिसकेको छु, छिट्टै यसमा कडाई गराउँछु ।’

अध्यक्ष गिरीले डुङ्गा चालकहरूले आफूहरूलाई लगाएर डुङ्गा चलाउन असहज हुने गरेको भन्ने गरेको बताए । ‘मैले पहिलो बैठकमा कुरा राखें, यहाँ लाइफ ज्याकेट लगाउने चलन नै छैन भनेर पूर्व अध्यक्ष ज्युले पनि भन्नुभयो,’ उनले भने ।  उनले चालकहरूको लापरबाहीले समग्र ताल पर्यटनलाई नै असर पुग्ने भन्दै यसको व्यवस्थापनका लागि सरोकारवाला सबै लाग्नुपर्ने बताए । ‘चालकहरूले गर्दा यहाँ डुङ्गा चढ्न नै पर्यटकहरू शशंकित हुने गरेका छन्,’ अध्यक्ष गिरी भन्छन्,‘यसले हाम्रो व्यवसायलाई नै गम्भीर असर पर्छ भनेर मैले बैठकमा भनेको छु ।’

उनले आगामी बैठकमा यस मुद्धालाई मुख्य अजेण्डा बनाएर अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । ‘मिडियामा समाचार आउनुअघि म एक्लै थिएँ, अब समाचार पनि आउन थालेपछि हाम्रा व्यवसायी साथीहरूले पनि पक्कै मान्नुहुन्छ । नमान्नेले पनि अब मान्नुपर्छ,’ अध्यक्ष गिरीले भने,‘अब लाइफ ज्याकेट यात्रुले मात्र हैन चालकले पनि अनिवार्य लगानुपर्छ, नलागाउनेले बाध्य भएर लगाउनै पर्ने नियम बनाउँछौँ ।’

२० मंसिर २०७९