पोखराको लेकसाइडस्थित मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालिले आफ्नाे दोस्रो वार्षिकोत्सव विशेष ढंगले मनाएको छ। पोखरा–६, खहरेस्थित फेवातालको किनारमा रहेको होटलले वार्षिकोत्सवको अवसरमा फेवातालमा १० हजार माछाको भुरा छोड्दै वातावरणीय सन्देश दिएको छ।
होटल सञ्चालक सुनिलबहादुर भट्टराईका अनुसार, अघिल्लो वर्ष पहिलो वार्षिकोत्सवको अवसरमा सरसफाइ कार्यक्रम गरिएको थियो भने यस वर्ष माछाको भुरा छोडेर फेवातालको पारिस्थितिक सन्तुलनमा योगदान दिने प्रयास गरिएको हो।
यसै अवसरमा होटलले आफ्नो उत्कृष्ट कर्मचारीहरुलाई सम्मानसमेत गरेको छ। ‘हेड अफ डिपार्टमेन्ट अफ दी ईयर’ बाट अनिल कुँवर र ‘इम्प्लोयी अफ दी ईयर’ बाट मेनुका गुरुङलाई पुरस्कृत गरिएको सञ्चालक भट्टराईले जानकारी दिए।
सामाजिक उत्तरदायित्व अन्तर्गत होटलले मानव सेवा आश्रम, हेमजा (पोखरा–२५) मा आश्रित १५० जना जेष्ठ नागरिकलाई भोजन दान गरेको छ।
करीब ७ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ३ वटा स्वीट रुमसहित डिलक्स, सुपर डिलक्स कोठा गरी ३८ कोठाहरू छन्। होटलबाट फेवाताल, माछापुच्छ«े हिमाल, अन्नपूर्ण श्रृंखला र मेथलाङ डाँडाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
एक सय बढी अट्नसक्ने कन्फरेन्स हल, स्पा, साउना, स्ट्रिम, मसाज जस्ता सुविधा समेटिएको होटलमा दैनिक ‘एकोस्टिक लाइभ’ समेत आयोजना हुने गरेको छ। रेष्टुरेन्टमा नेपाली, भारतीय, कन्टिनेन्टल परिकार परोसिन्छ भने पर्यटकको सुविधाका लागि खुल्ला पार्किङ पनि रहेको भट्टराईले बताए।
ट्रिप एडभाइजरको सूचीमा पोखराका उत्कृष्ट ५ होटलमध्ये पर्न सफल यो होटल दुई वर्षभित्रमै पर्यटकको रोजाइमा परेको छ।








