मनाङ एअरका पाइलट सेढाईंको मुम्बईमा उपचारका क्रममा निधन


टुरिजम पाना काठमाडौँ । ८ कार्तिक २०८०

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचाररत पाइलट प्रकाश सेढाईंको निधन भएको मनाङ एअरले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

गत आइतबार नै निधन भए पनि दशैंका कारण ढिला गरि कार्तिक ६ राती मात्रै सार्वजनिक गरिएको मनाङ एअर स्रोतले जानकारी दिएको छ । साथै सेढाईंको शवलाई अन्तेष्टीको लागि नेपाल ल्याउने तयारी भैरहेको बताइएको छ ।

ह्याम्स अस्पतालमा प्रारम्भिक उपचार गरि पाइलटलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको थियो ।

श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई मुम्बई लैजाँदा ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरेका थिए ।

हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको यस अगाडि ह्याम्स अस्पतालले जारी गरेको बिज्ञप्तिमा उल्लेख थियो ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

८ कार्तिक २०८०