चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउनयता निकुञ्जमा ५३ हजार एक सय तीन नेपालीले भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार आठ सय ५० र तेस्रो मुलुकका ४६ हजार तीन सय ९२ जनाले निकुञ्जको भ्रमण गरेका छन् । पर्यटकबाट रु १३ करोड एक लाख ४६ हजार राजस्व सङ्कलन भएको उनले बताए ।
निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुङ्गी हेर्न पर्यटक आउने गरेका छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुङ्गा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्दछन् । चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो । रासस