वर्ल्ड इकोनोमीक फोरममा ‘युनिभर्सल पिस स्याङ्चरी’ उद्घाटन गर्दै नेपाली धर्म गुरु 


टुरिजम पाना काठमाडौँ । ३ माघ २०८१

स्वीजरल्याण्डको डेभोसमा हुने वर्ल्ड इकोनोमी फोरम समारोहमा ‘युनिभर्सल पिस स्याङ्चरी’को उद्घाटन हुने भएको छ । विश्व शान्तिका लागि भन्दै यही आउँदो जनवरी २१ तारिखका दिन स्वीजरल्याण्डको डेभोसमा हुने वर्ल्ड इकोनोमी फोरमको भव्य समारोहमा ‘युनिभर्सल पिस स्याङ्चरी’को उद्घाटन हुने भएको हो ।

लुम्बिनीमा निर्माणाधीन स्याङ्चरीले संसारका विविध जटिल समस्याहरूको समाधानका लागि वार्ता तथा छलफल गर्ने, भगवान् गौतम बुद्धको उपदेशलाई संसारभर फैलाउने जस्ता पवित्र उद्देश्य सहित युनिभर्सल पिस स्याङ्चरी गठन गर्न लागिएको बौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेले जानकारी दिए ।

७० देशका करिब १ लाख बढी व्यापारी सहभागी हुने वर्ल्ड इकोनोमी फोरममा सहभागी हुन स्वीजरल्याण्ड जाने तयारीमा रहेका धर्मगुरु रिन्पोछेले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विश्वभरका मानवलाई शान्तिको मार्गमा डोर्‍याउँदै नेपालको विकासमा पनि हातेमालो गर्न स्याङ्चरी गठन गरिएको बताए ।

धर्मगुरु रिन्पोछे भन्छन्, ‘यो अभियानमा प्रधानमन्त्री केपी शर्मा ओली सहित ५० भन्दा बढी राजनीतिज्ञले केही दिनमै ऐक्यबद्धता जाहेर गर्नुभएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा परेको लुम्बिनीले आशाको दीप बनि संसारभर शान्ति र संवृद्धि फैलाउने छ । यसले केबल नेपालीको मात्रै नभई सम्पूर्ण मानव जातीको दिगो विकास र संवृद्धिको बाटो खोल्ने छ ।’

सोही विश्व शान्ति अभियान अन्तर्गत बुद्धको जन्मस्थल लुम्बिनीमा ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको ४४ मिटर उचाइको चार तले विश्वशान्ति धामको निर्माण भइरहेको छ ।

 

३ माघ २०८१