लमजुङको थुम्काडाँडामा शिल्पी संग्रहालय सञ्चालनमा


टुरिजम पाना लमजुङ । ५ फाल्गुन २०७९

लमजुङको बेसीसहर नगरपालिका ३ थुम्काडाँडामा शिल्पी संग्रहालय सञ्चालनमा आएको छ ।

स्थानीय रुपमा आफ्नो पेशा व्यवसाय गर्नेहरूले प्रयोग गरेका पुरातात्विक औजारहरू, छालाका सामाग्री, बाजागाजा लगायत संग्रहालयमा राखिएका छन् ।

स्थानीय श्री जनज्योति युवा क्लवको परिकल्पनामा करिब ३६ लाख रुपैयाँमा संग्राहलय बनाइएको संग्राहालयका सल्लाहकार अम्भिर प्रसाद विकले जानकारी दिए । उनका अनुसार, संग्रहालयमा हालसम्म ३० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । विभिन्न जातजातीहरु मिलेर वसेको थुम्काडाडामा जातीय पहिचान झल्कने पुरातात्विक शिल्पी संग्रहालय निर्माण गरिएको हो ।

पर्यटकीय हिसाबले हरेक पर्यटकको गन्तव्य बन्ने थुम्काडाँडामा निर्माण भएको सो संग्रहालयमा पर्यटकहरूले पुरातात्विक विषयमा अध्ययन गर्ने ठाउँको रुपमा विकास गरिने सल्लाहकार विश्वकर्माको भनाइ छ ।

संग्रहालयमा विभिन्न जातजातीले प्रयोग गर्ने सुन, चाँदी र फलाम जस्ता धातु साथै काठ, ढुङ्गा, माटो तथा विभिन्न वस्तुवाट निर्मित सामाग्रीहरू राखिएको छ । यस्तै आकर्षक किसिमको घुमाउने घर निर्माण गरि संग्रहालय राखिएको छ । जसमा विभिन्न चन्दादाता तथा संघसंस्थाले सहयोग गरेको सल्लाहकार विश्वकर्माले बताए ।

लमजुङको सदरमुकाम पुगेका जोकोहीले पनि सहजै संग्रहालयमा जान सक्नेछन् । संग्रहालय लमजुङ दरबार र कालिका मन्दिरबाट एक किलोमिटर दक्षिण पूर्वतर्फ रहेको छ । सदरमुकामबाट त्यहाँसम्मको दूरी भने ७ किलोमिटर रहेको छ ।

५ फाल्गुन २०७९