समयमै पूरा नहुने भयो नागढुङ्गा सुरुङ, जग्गा प्राप्ति मुख्य समस्या


गोविन्द मरासिनी काठमाडौं । ८ पुष २०७९

बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग निर्धारित समयमा पूरा नहुने देखिएको छ । विभिन्न कारणले निर्माणमा अवरोध पुगेको भन्दै तोकिएको समयमै निर्माण सम्पन्न गर्न गाह्रो हुने नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको हो ।

आयोजनाका अनुसार, गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको र जग्गा प्राप्तिको समस्या पूर्ण रुपमा समाधान भइनसकेका कारण आयोजना सम्पन्न हुने समय ६ महिना पर धकेलिने देखिएको छ ।

आयोजनाका उपनिर्देशक माधवप्रसाद अधिकारीले निर्माणको काम निर्धारित तालिकाभन्दा केही ढिला हुनसक्ने देखिएको जानकारी दिए । आयोजना आगामी वर्ष साउनमा सम्पन्न हुने लक्ष्य राखिएको छ । तर त्यस समयसम्ममा आयोजनाको काम नसकिने आयोजनाले बताएको हो । आयोजनाले पछिल्लो दुई वर्ष कोभिड महामारीका कारण निर्माण नियमित गर्न नसकिँदा काम प्रभावित बनेको बताएको छ ।

अहिले समयावधिबारे परामर्शदाताले अध्ययन गरिरहेको उनको भनाइ छ । हाल सुरुङको प्रगति ७० प्रतिशतभन्दा बढी पुगेको छ । दुई किलोमिटर छ सय ८८ मिटर लम्बाइको सुरुङमार्ग हालसम्म एक किलोमिटर सात सय ११ मिटर निर्माण सकिएको आयोजनाले जानकारी दिएको छ ।

पूर्वतर्फबाट आठ सय ३२ मिटर र पश्चिमतर्फबाट आठ सय ७८ मिटर निर्माण सकिएको छ । सुरुङको निष्काशन (इभ्याक्युएसन टर्नेल) दुई किलोमिटर पाँच सय ५७ मिटर निर्माण गर्नुपर्नेमा हालसम्म एक किलोमिटर नौ सय ४८ मिटर सकिएको छ ।

यस्तै एक सय २६ मिटरको ‘वर्किङ अडिट’को निर्माण सकिएको छ । त्यसैगरि साढे पाँच किमी ‘क्रस प्यासेज’ निर्माण गर्नुपर्नेमा हाल तीन किलोमिटर ८६ मिटर सकिएको आयोजनाले जनाएको छ ।

आयोजना अन्तर्गत सुरुङ निर्माणसँगै अन्य ११ वटा संरचा निर्माण सम्पन्न भएका छन् । कुल १२ वटा संरचना निर्माण गर्नुपर्नेमा अहिलेसम्म ११ संरचना निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार, तीन ‘अण्डरपास’, एउटा ‘ओभर पास’, तीन पुल र चार बक्स कल्भर्ट’ निर्माण सम्पन्न भएको हो ।

आयोजनाको केही काममा भने जग्गा प्राप्तिमा समस्या भएको छ । जसकारण संरचना निर्माणमा समस्या भइरहेको आयोजनाका उपनिर्देशक अधिकारी बताउँछन् । आयोजनाअन्तर्गत नै बलम्बुमा ‘फ्लाई ओभर निर्माणाधीन छ । यहाँ जग्गाको क्षतिपूर्ति दिने काम ९५ प्रतिशत सकिएको छ । जसमा दुई जगको काम भइसकेको र पाँचमध्ये दुई ‘सुपर स्ट्रक्चर’ काम भएको आयोजनाको भनाइ छ ।

गत महिनासम्ममा भौतिक प्रगति ४६ दशमलव २६ प्रतिशत र पेश्किसहित वित्तीय प्रगति ४८ दशमलव ८३ प्रतिशत भएको आयोजनाले जनाएको छ । आयोजनामा जमिनमा हुने काममध्ये सडकमार्गका लागि माटो खन्ने काम काम ७७ दशमलव आठ प्रतिशत र बाँध निर्माणको काम ६२ दशमलव चार प्रतिशत सकिएको छ ।

जग्गा प्राप्ति मुख्य समस्या

आयोजना सम्पन्न गर्नका लागि जग्गा प्राप्ति मुख्य समस्याका रूपमा देखिएको छ । आयोजना निर्माणमा काठमाडौँ र धादिङ गरि दुबै जिल्लामा जग्गा प्राप्तिको समस्या रहेको आयोजनाले बताएको छ । काठमाडौँमा जग्गा र धादिङतर्फ निर्माणस्थलमा केही घरसमेत रहेको आयोजनाले जनाएको छ ।

धादिङतर्फ तत्काल निर्माणमा नै असर नगरेको भए पनि जग्गा प्राप्त नहुँदा काठमाडौँतर्फ ‘फ्लाई ओभर’ निर्माणमा अवरोध भएको बताइएको छ ।
सुरुङमार्गमा समस्या समाधानका लागि पटक–पटक छलफल भए पनि समाधान भइसकेको छैन । धादिङमा सुरुङको देब्रेतर्फ पहिरो र केही घरजग्गा प्राप्त गर्नुपर्नेमा ती घरको अख्तियारमा मुद्दा रहेको आयोजनाको भनाइ छ ।

नेपालमा पाँच सय मिटरभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङ मार्ग हो । जापान सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ महिना रहेको छ ।

सुरुङमार्ग निर्माणका लागि नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्द्रो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो । सम्झौतापश्चात २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिकाको वडा नम्बर १ स्थित टोटेपाखा पुगेर सुरुङमार्गको शिलान्यास गरेका थिए ।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबीसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने विश्वास गरिएको छ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ ।

दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुनेछ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् ।

एउटा गाडी बिग्रँदा पनि दुबैतर्फ गाडी चल्न सक्ने गरी सुरुङको निर्माण भएको छ । सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वारसमेत रहेका छन् ।

८ पुष २०७९