नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रिया थालनी, नगरसभाबाट प्रस्ताव पारित


टुरिजम पाना काभ्रेपलाञ्चोक । २२ पुष २०७९
तस्वीर : नमोवुद्व नगरपालिका

ऐतिहासिक एवं पर्यटकीय काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ ।

नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने दोस्रो नगरसभाले निर्णय गरेको हो ।

नगरको ११ नं वडास्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचीन महत्व बोकेको विश्वप्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अगाडि बढाई थप पहल गर्ने बिहीबारको नगरसभाले विशेष प्रस्ताव पारित गरेको हो ।

नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग विभिन्न चरणमा छलफल समेत गरेको छ । सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएकाले संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को) का नेपाल प्रतिनिधिलाई औपचारिक रुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको थियो । पर्यटकीयस्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मावलम्बीको तीर्थस्थलका रुपमा समेत लिइने गरिन्छ ।

शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थलको रुपमा नमोबुद्धलाई मानिन्छ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामाकरण गरिएको बिश्वास रहेको छ ।

किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजाअर्चना र दीप प्रज्वलन गर्न बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ । हाल सो स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ ।

यसैबीच नगरले नमोबुद्धलाई विश्वकै नमुना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ ।

सुरक्षा व्यवस्थापनका लागि सिसिटिभी क्यामेरासमेत जडान गरिएको छ भने डिपिआर अनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताए ।

जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौँबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती ब्यहोर्दै आएका छन् । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृङ्खलाहरु देख्न सकिन्छ ।

यस्तै, काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई नेपालस्थित मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदामा सूचीकृत हुने भएको छ । पनौती विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको बञ्जाराले जानकारी दिए ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौं उपत्यका (उपत्यका सात क्षेत्र ः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ ।

२२ पुष २०७९