निर्मल पुर्जाको कम्पनीले भन्यो : घरधनीले भ्रमपूर्ण हल्ला फिँजाए


टुरिजम पाना काठमाडौं । ५ पुष २०७९

निर्मल पुर्जा प्रमुख सञ्चालक रहेको ईलाईट हिमालयन एड्भेन्चर्स प्रालिले घरधनीले कम्पनीमाथि भ्रमपूर्ण हल्ला फिँजाएको दाबी गरेको छ ।

कम्पनीले आज (मंगलबार) पत्रकार सम्मेलन गरि घरधनीले कम्पनीमाथि लगाएको आरोप भ्रमपूर्ण रहेको दाबी गरेको हो ।

उक्त घटनाप्रति आफूहरू संवेदनशील रहेको भन्दै कम्पनीले आफूहरू निरन्तर घरधनीको सम्पर्कमा रहेको बताएको छ । कम्पनीका अधिवक्ता विरेन्द्र कुमार ठाकुरले घरधनीले कम्पनीमाथि भ्रामकआरोप लगाएको दाबी गरे ।

उनले भने,’घरधनीले मिडिया र सामाजिक सञ्जालमा भ्रमपूर्ण र कपोलकल्पित ढंगले बोलेको प्रति हामी दुःखी छौं ।’

भ्रमपूर्ण विषयले आफूहरुलाई शान्तिपूर्ण र स्वतन्त्रतापूर्वक पेशा/व्यवसायगर्न पाउने हकअधिकारबाट कुण्ठित गरेको उनको दाबी छ ।
अनुसन्धानको क्रममा रहेकाले अनुसन्धानपश्चात् उक्त विषयमा ठोस परिणाम आउने ठाकुरको भनाइ छ ।

घरधनी टंकले कम्पनीले धान्न नसक्ने गरि रकम माग गरेको पनि कम्पनीले जनाएको छ । कम्पनीको आयआर्जनले मागबमोजिमको क्षतिपूर्ति भर्न नसक्ने जानकारी गराइएपनि घरधनीले आफूहरूको ईज्जत, सम्मान तथा कम्पनीको साखलाई समेत असर पर्नेगरी सर्वसाधारणमा भ्रम फैलाएको कम्पनीको भनाइ छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कम्पनीमा प्रतिनिधि, कर्मचारीमार्फत घरधनीसँग निरन्तर सम्पर्कमा रहेकोमा झुट्टा र कपोलकल्पित तथ्यहरुको सिर्जना गरी कम्पनीले जानीजानी घटना घटाएको भन्ने भावसहितको अभिव्यक्तिबाट हामीलाई ठूलो अन्याय भएको छ, अतः सम्पूर्ण सरोकारवाला, शुभचिन्तक, आफन्तजन तथा हाम्रा विश्वभरी रहेका ग्राहकवर्गमा पर्न गएको यसप्रकारको गलत, झुट्टा तथा भ्रमयूक्त अभिव्यक्ति प्रति कुनै प्रकारको भ्रममा नपर्नको लागि हार्दिक अनुरोध गर्दछौं ।’

गत असोज ५ गते काठमाडौं महानगरपालिका बुढानीलकण्ठ स्थित हिमालयन एडभेन्चर प्रालिमा भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको थियो । कम्पनीले उक्त घर निर्माणका लागि  १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको समेत विज्ञप्तिमा जानकारी दिएको छ । तर घरधनीले भने सो सहयोगले नपुग्ने भन्दै कम्पनीले नधान्ने गरि रकम माग गरेको जनाएको छ ।

कम्पनीको तर्फबाट सञ्चालक मिंग्माग्याबु शेर्पा (डेभिड) ले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘अकस्मात र अप्रत्यासित रुपमा आगलागी भई कम्पनीमा कार्यरत तीन जना कर्मचारीहरूको दुःखद् निधनले मर्माहत भएका छौं ।’

 

५ पुष २०७९