पर्यटन सम्बद्ध संघसंस्थाको एकै स्वर : हवाई क्षेत्र सुरक्षित बनाउन सत्यतथ्य छानबिन होस्


टुरिजम पाना काठमाडौं । ३ माघ २०७९

पोखरामा यति एयरलाइन्सको विमान दुघंटना पश्चात पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाले नेपालको हवाई क्षेत्र सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन आग्रह गरेका छन् । विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का परेको भन्दै विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाले घटनाले आफूहरुलाई दुखी तुल्याएको बताएका हुन् ।

होटल सङ्घ नेपालले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाबाट नेपाली आकाश असुरक्षित भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह भएको हुँदा यसबाट हवाई क्षेत्रमा मात्र नभई सिङ्गो राष्ट्र र पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने निश्चित भएको भन्दै नेपाली आकाश सुरक्षित बनाउनु राज्यको कर्तव्य र हामी सबै सरोकारवालाहरुको दायित्व भएको बताएको छ ।

यस्तै होटेल सङ्घ पोखराले नेपालको हवाई क्षेत्र सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन आग्रह गरेको छ । यति एयरलायन्सको जहाज दुर्घटना भएकोमा सङ्घका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले आज विज्ञप्ति जारी गर्दै नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई गम्भीर बन्न आग्रह गरेका छन् । विपद्का समयमा खोजी, उद्धार र राहतका कार्यक्रमलाई चुस्त र दुरुस्त राख्न चाल्नुपर्ने कदम तत्काल चाल्न सङ्घले सरकारसँग अनुरोध गरेको छ ।

नेपाल वायुसेवा निगमले पनि एक सूचना प्रकाशित गरी गर्दै नेपालको हवाई उड्डयानको इतिहासमै भएको यो दुःखद घडीमा दुर्घटनामा परी ज्यान गुमाएका महानुभावमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै नेपाली हवाई उड्डयान क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन यस घटनाको प्रभावकारी छानबिन तथा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक हुनेमा निगमको अपेक्षा रहेको जनाएको छ ।

यसैगरी पर्यटन सम्बद्ध अर्को संस्था नेपाल एशोसिएशन आफ टूर एण्ड टाभल्स एजेन्ट (नाट्टा) ले सुरक्षित र भरपर्दो उडड्यन क्षेत्र पर्यटनको आधार भएको भन्दै नेपालको उडड्यन क्षेत्रको सुरक्षाका लागि सरोकारवाल र बिशेष रुपमा सरकारको ध्यान जानुपर्ने भन्दै घटनाको सत्य तथ्य छानबिनको माग गरेको छ ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा) ले नेपाल सरकारले यस घटनाबाट पाठ सिकी आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउनका लागि र आगामी यात्रा सुरक्षित गर्नका लागि माग गरेको छ । नाराका अध्यक्ष शिव अधिकारीले विज्ञप्ति जारी गर्दै भर्खरै मात्र नयाँ विमानस्थल निर्माणको कार्य सम्पन्न भई उडान शुभारम्भ र पर्यटकीय राजधानीको रुपमा भएको पोखरामा भएको दुर्घटनाले समग्र देशभरको पर्यटनमा असर पर्ने बताएका छन् ।

नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताएको छ ।

भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण सम्पन्न भई उडान शुभारम्भ भएको र पर्यटकीय राजधानीको रुपमा रहेको पोखरामै भएको दुर्घटनाले नेपालको हवाई क्षेत्रमा मात्र नभइ देशको समग्र पर्यटन क्षेत्रमा नै ठूलो धक्का लागेको महासचिव विनोद सापकोटाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

यसैगरी ठमेल पर्यटन विकास परिषद्, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) लगायतका संघसंस्थाले घटनाबारे दुख व्यक्त गरेका छन् ।

३ माघ २०७९